ब्रेक प्याड’ भित्रको सुन गाल्दै टक्सार, यथार्थ परिमाण र गुणस्तर पत्ता लाग्ने

 सुन काण्ड     ३० श्रावण २०८०, मंगलवार १२:३८     88 जनाले पढ़िसके



Spread the love

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर अनुसन्धान विभागले बरामद गरेको सुन आज गालिदैछ । नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

यसअघि हिजो ब्रेक प्याडबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्टाइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ ।

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि महाशाखाका प्रमुख आचार्यले बताए । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक प्याड’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक प्याड’ टक्सार महाशाखामा राखिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिएको थियो । उक्त घटनामा अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ ।