बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन : शहरी विकास मन्त्री चौधरी

 मेटमणि चौधरी     २०७९, ५ पुष मंगलवार १९:३१     133 जनाले पढ़िसके



Spread the love

काठमाडौँ,
शहरी विकास मन्त्री मेटमणि चाधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन्
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरिक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै भने, ‘यत्रो फोहोर जम्मा भइराछ । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांस माग पुरा हुने चरणमा पनि छन् ।’
‘पहुँच भएकाहरुले बन्चरे डाँडाबाट लाभ लिइरहेका छन् । तर यहाँका गरिब, सोझा मान्छेहरु वास्तवमै मारमा परेका छन् हजुर । यसमा पनि ध्यान दिनुपर्याे ।’ स्थानीयबासीको भनाइमा गम्भीर हुँदै मन्त्री चौधरीले थपे, ‘हरेक ठाँउमा बदमासी गर्नेहरु हुन्छन् । त्यस्तालाई तपाईंहरु पनि पहिचान गर्नुस् । तपाईंहरुमाथि सरकारले अन्याय हुन दिन्न ।’
शहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बन्चरे डाँडाको काम दुई चरणमा गरिएको जानकारी दिए ।

फोटो : मन्त्री मेटमणी चौधरी निरिक्षणको लागि बन्चरे डांडामा

‘पहिलो चरण अन्तर्गत सेडिमेन्टेसन ट्याङ्क, लिथेट ट्याङ्क, कर्मचारी तथा सुरक्षाकर्मी बस्ने भवन, सार्वजनिक शौचालय, गाडी मर्मत भवन, प्रवेशद्धार लगायतका निर्माण कार्य थिए । हामीले पहिलो चरणलाई सेल –१ र सेल–२ गरि दुई भागमा विभाजन गरेका थियौँ । सेल –१ को काम शतप्रतिशत सम्पन्न भइसकेको छ भने सेल–२ को ९५ प्रतिशत कार्य सम्पन्न भएको छ ।
त्यसैगरि दोस्रो चरण अन्तर्गत ड्याम निर्माण, पहिरो नियन्त्रण, सडक तथा नाला निर्माण गरि शतप्रतिशत काम सम्पन्न भइसकेको छ ।’ इन्जिनियर कटुवालको भनाइ थियो ।
तिनपिप्ले देखि बन्चरे डाँडा जाने मुख्य ढुवानी मार्गको मर्मत कार्य अन्तिम चरणमा रहेको र यसका साथै शहरी विकास मन्त्रालयले फोहोर मैला ढुवानीका लागि छुट्टै र छोटो दुरीको बैकल्पिक मार्गको डिपिआर सम्पन्न गरि ठेक्का दिन लागिएको पनि इन्जिनियर कटुवालले जानकारी दिए ।
पहिलो चरण र दोस्रो चरणको सम्भौता रकम क्रमशः ४४,१३,०४,२२४ र ४९,२५,६०,३०५ रहेको छ ।