काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निस्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट भएको छ । यसरी बाँडफाँट गर्दा ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् ।कम्पनीले कुल सात लाख कित्ता सेयर सार्वजनिक निस्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर छुट्याएको थियो । तर, १ लाख ४ हजार कित्ता सेयरमा निवेदन परेन ।उक्त सेयर समेत थप गरी कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । जसको ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । जसमध्ये ५१ हजार ५२२ जनमाले १० कित्ताका दरले सेयर पाएका हुन् ।उक्त आईपीओमा आवेदन दिएकामध्ये ११ लाख ९१ हजार २८४ आवेदनमार्फत १ करोड ३० लाख ७८ हजार १०० कित्ताको लागि योग्य आवेदन प्राप्त भएको बिक्री प्रबन्धकले जनाएको छ ।कम्पनीले आईपी निस्काशनको लागि २१ मंसिरदेखि २६ मंसिरसम्म आवेदन माग गरेको थियो ।बाराही हाइड्रोपावर कम्पनीले बाग्लुङमा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनाको बाँध निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।