बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

 आर्थिक खबर     २०७९, ४ आश्विन मंगलवार १८:०१     136 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिएका छन्।

निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानी अभावमा समस्यामा पर्न नहुने बताए।

ती क्षेत्रको विकासबिना देशको आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै उनले लगानीको अभावमा ती क्षेत्र धारासयी बन्न नहुने उल्लेख गरे। अर्थमन्त्री शर्माले परियोजनालाई धितो राखेर नै लगानी गर्ने प्रबन्ध गरिनुपर्नेमा जोड दिए । उनले ग्रामीण अर्थतन्त्रको विकास नगरीकन मुलुक आर्थिक रूपमा सबल बन्न नसक्ने स्पष्ट पारे।

हालको नीतिले बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ऋण दिइए पनि त्यसैबाट घर जग्गामा लगानी हुने अवस्था देखिएको भन्दै उहाँले यस्ता विषयमा सरोकारवालाले ध्यान दिनुपर्ने बताए। उनले भने, “बैंक तथा वित्तीय क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा हुनुपर्छ । औद्योगिक र उत्पादनमूलक क्षेत्रलाई दुई प्रतिशत कम ब्याजमा ऋण दिनुपर्छ ।”

आयात प्रतिस्थापन गर्नका लागि उत्पादन वृद्धि गर्नुको विकल्प नभएको र त्यसका लागि थप लगानी आवश्यक रहेको उनले बताए ।कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना भएको लामो समय भए पनि प्रभावकारी नीति, कार्यक्रम र योजना बनाउन नसकेको भन्दै त्यसमा ध्यान दिन आग्रह गरे।

गभर्नर अधिकारीले कोषले ऐनले दिएको कार्यक्षेत्रभित्र बसेर दीर्घकालीन योजना बनाएर काम गर्न आग्रह गरे ।उनले भने, “कोषको काम पैसा सङ्कलन गर्ने मात्रै होइन । अन्य क्षेत्रमा पनि लगानीका लागि काम गर्नुस् । ”

मुलुकको अर्थतन्त्रले आन्तरिक, कृषि उत्पादन र उद्योगमा लगानी वृद्धि खोजेको गभर्नरको भनाइ छ । कार्यक्रममा कोषका अध्यक्षसमेत रहेका राजस्व सचिव रामेश्वर दंगालले कोषलाई थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्ने बताए।