नेकपा माओवादी केन्द्रबाट सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू बिरामी परेपछि उपचारका लागि वीरगञ्ज पठाइएको छ।
आज दिउँसो करिब १ बजेतिर मिठाइ खाएका उनीहरू बिरामी परेका थिए।
उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
‘आज दिउँसो मिठाइ खाएलगत्तै वडाध्यक्षका एक र दुई वडा सदस्यका उम्मेदवार बिरामी परेका छन्,’ सर्लाही प्रहरी स्रोतले भन्यो, ‘परीक्षण गर्दा उहाँहरूले खाएको मिठाइमा विष देखिएको चिकित्सकले बताउनुभएको छ।’
माओवादीबाट वडाध्यक्ष उम्मेदवार शेख इस्तिहार सहित दुई वडा सदस्यका उम्मेदवार बिरामी परेको प्रहरीले जनाएको छ। अहिले सर्लाहिमा माओवादी कार्यकर्ताले बिरोध गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन। उनीहरुले सत्यतथ्य छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन।
घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको सर्लाही प्रहरीले जनाएको छ।