सर्लाही : स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिएकामध्ये सर्लाहीका विभिन्न स्थानीय निकायका १७ उम्मेदवारविरुद्ध उजुरी परेको छ।
मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जनाए अनुसार उजुरी पर्नेमा सबैभन्दा धेरै सर्लाहीको बसबरिया गाउँपालिकामा सातजना र बागमती नगरपालिकामा चार जना छन्। त्यस्तै बलरा र लालबन्दीमा २-२ जना, कविलासी, रामनगर र ब्रम्हपुरीमा एक-एक उजुरी दर्ता भएको छ।
ती उजुरीमाथि आज छानबिन हुँदै गरेको र दोषी प्रमाणित भए उम्मेदवारी रद्द गरिने मुख्य निर्वाचन अधिकृत पियाले जानकारी दिए। बलराको प्रमुखका उम्मेदवार अभयकुमार सिंह र बागमती नगरका प्रमुखका उम्मेदवार भरतकुमार थापाविरुद्ध पनि उजुरी परेको छ।
अन्य पालिकामा पनि विभिन्न उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बागमतीका थापाविरुद्ध प्रहरीको कार्बाहीमा मारिएका कुमार पौडेलका बुबा खिलराज पौडेलले उजुरी दिएका हुन्।
पौडेल घटनामा मृतकका बुबाले दिएको किटानी जाहेरीमा थापाको नामसमेत भएको र सर्वोच्च अदालतले पनि छानबिन गर्न आदेश दिएको उल्लेख गरिएको छ।
त्यस्तै सिंहविरुद्ध बेरुजु तिर्नुपर्ने र पेश्की फर्स्यौट गर्नुपर्ने भन्दै उजुरी परेको हो।
महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरको लेखापरीक्षण प्रतिवेदनअनुसार ११ करोड ८० लाख १८ हजार बेरुजु देखिएको र पाँच करोड ३६ लाख ८४ हजार असुलउपर नै गर्नुपर्ने उल्लेख गरिएको छ।
सिंह र अर्का एकजना वडाध्यक्षविरुद्ध उजुरी परेको बलराका निर्वाचन अधिकृत रञ्जितकुमार यादवले जानकारी दिए।