मस्कट – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा नेपालले पहिलो खेलमा आज घरेलु टोली ओमाानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
शरद आजको खेलमा अन्तिम १४ खेलाडीका लिष्टमा छैनन् । शरदको ठाउँमा नेपालले अन्तिम १४ को बेन्चमा प्रदीप ऐरीलाई राखेको छ । त्यस्तै गुलशन झाको स्थानमा नेपालले कुशल मल्ललाई बेन्चमा राखेको छ । गुलशन क्वारेनटाइन पूरा नभएको हुँदा अन्तिम १४ मा नभएका हुन् । कुशल र प्रदीप नेपालको वैकल्पिक खेलाडीको सूचिमा थिए ।
नेपालले आजको खेलमा प्रदीप ऐरी, कुशल मल्ल र स्पिनर सागर ढकाललाई बेन्चमा राखेको छ । वैकल्पिक फिल्डिरको रुपमा यी तीन खेलाडी प्रयोग गर्न सक्ने छ ।
नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल छन् । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । ऐरीले ओमानलाई हराउन ५३ बलमा ७३ रनको अविजित इनिङ खेलेका थिए । दीपेन्द्रले ओमानमा राम्रो लय र प्रदर्शन गरेका छन् । दीपेन्द्रको प्रदर्शनले नेपालको मध्यक्रमको आधार खडा गर्नेछ । उनीबाट ब्याटिङमात्र नभई पार्ट टाईममा पनि नेपालले ठूलो आशा राख्नेछ । उनले आयरल्यन्डविरुद्ध ४ विकेट लिएका थिए ।
आरिफ शेख, विवेक यादव र लोकेश बम तल्लोक्रममा खेल्नेछन् । मस्कटस्थित अल अमरेत १ नम्बर मैदान तीव्र गतिका बलरलाई सहयोग गर्ने भएकाले नेपालले तीव्र गतिका बलरमा कमलसिंह ऐरी, अभिनाश बोहरा र जितेन्द्र मुखियालाई निरन्तरता दिएको छ । अभिनाशले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । योर्करका लागि चर्चित अभिनाशले सिरिजमा ओमानसँग ३ विकेट लिएका थिए ।