नेपाल चार देश सम्मिलित टि२० आई सिरिजको दोस्रो खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको छ । १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रन बनायो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५ चौकासहित सर्वाधिक ४१ रन बनाए । ओपनर आसिफ शेख २९ बलमा ४ चौका र १ छक्कासहित ३४ र डेब्यू खेल खेलेका लोकेश बम २१ बलमा २ चौका र २ छक्कासहित ३३ रनमा क्याच आउट भए । नेपाललाई ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ६ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
ज्ञानेन्द्र मल्ल १९ बलमा २ चौका र १ छक्कासहित २२ रनमा क्याच भए । ज्ञानेन्द्र छैटौं ओभरको अन्तिम बलमा कासिफ दाउदलाई ठूलो सट खेल्नेक्रममा डिप मिडविकेटमा मुहम्मद वासिमबाट समातिन पुगे । स्पिनर रोहन मुस्तफाको दशौं ओभरको चौथो बलमा आसिफ कट एण्ड बोल्ड भए । मुस्तफाले एक हातले उत्कृष्ट क्याच लिएपछि आसिफ पेभेलिएन फर्केका थिए ।
आरिफ रोहन मुस्तफाको बलमा ठूलो सट खेल्नेक्रममा लङअनमा वासिमबाट ११ रनमा क्याच आउट भए । लोकेश बमले व्यक्तिगत ६ रनमा जहुर खानले क्याच ड्रप गरेपछि जीवनदान पाएका थिए । युएईका रोहन मुस्तफाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । कासिफ दाउदले २ र जुनैद सिद्दिकले १ विकेट लिए ।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । युएईका ओपनर चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रनको अविजित उत्कृष्ट इनिङ खेले । सुरीले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । दोस्रो विकेटका लागि सुरी र रोहन मुस्तफाले ९७ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
मुस्तफा आरिफ शेखको १४ औं ओभरको तेस्रो बलमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट भए । मुस्तफा ३५ बलमा ५ चौका र २ छक्कासहित ४९ रनमा शेख दाजुभाइको शिकार बन्न पुगे । ओपनर चिराग सुरी र मोहम्मद वासिमले पहिलो विकेटका लागि ३.३ ओभरमा २३ रन जोडेका थिए ।
मोहम्मद वासिम १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा क्याच भए । तेस्रो ओभरको तेस्रो बलमा स्पिनर साहब आलमलाई लगातार तेस्रो छक्का हान्ने धुनमा दीपेन्द्रसिंह ऐरीबाट लङअफमा क्याच हुन पुगेका थिए । मोहम्म बुटा ८ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहे ।
बासिल हमिदलाई सन्दीप लामिछानेले १७ रनमा बोल्ड आउट गरे । नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । साहब आलमले २ ओभरमा ३५ रन खर्चेर १ विकेट लिन सफल रहे ।
नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा अन्तिम खेल सोमबार आयरल्यान्डसँग खेल्नेछ ।