स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियू सर्लाहीको सरकारलाई ज्ञापन पत्र

 संवाददाता    २०७८, १७ माघ सोमबार १९:५४     188 जनाले पढ़िसके



Spread the love

मलंगवा – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सर्लाहीले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै सोमबार सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

केन्द्रीय कमिटीको सर्कुलर अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत अनेरास्ववियु केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज समिम खान लगायत विद्यार्थीनेताहरुको उपस्थितिमा सरकारलाई ज्ञापन पत्र बुझाइएको अनेरास्ववियू सर्लाहीका अध्यक्ष प्रज्वल ढुंगानाले महेन्द्रमाला खबरलाई बताए । ढुंगानासहितका विद्यार्थी नेताहरुले सोमबार दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकारसँग माग गरिएको छ । चुनावको मिति घोषणा नगरिए लोकतन्त्र बचाउने लडाइमा सडक संघर्षमा उत्रिने अनेरास्ववियूले ज्ञापन पत्र मार्फत सरकारलाई चेतावनी समेत दिएको छ ।

तत्कालै स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई दबाब दिने उद्देश्यले एमालेको विभिन्न भातृ संगठनहरुले देशभरै प्रदर्शन गर्न थालेका छन् । ५ दलिय सत्ता गठवन्धनले आगामी जेठ मसान्तसम्म स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपनि मिति भने तय गरेको छैन् ।

निर्वाचन आयोगले दुई पटक सरकारलाई पत्र लेखेरै यथाशीघ्र चुनावको मिति घोषणा गर्न आग्रह गरिसकेको छ ।