कांग्रेसको वडा अधिवेशनमा सरकारी विद्यालयका प्रधानाध्यापक सहभागी, कारबाही अघि बढाइँदै

 संवाददाता    २०८३, ७ आश्विन बुधबार १३:२३     59 जनाले पढ़िसके



Spread the love

बैतडीको दशरथचन्द नगरपालिका–९ स्थित जोशीबुंगा माध्यमिक विद्यालय लमौताका प्रधानाध्यापक दुर्गादत्त जोशी ‘चिन्तामणि’ नेपाली कांग्रेसको वडा अधिवेशनमा सक्रिय सहभागी भएका छन् । उनी कांग्रेस अधिवेशनमा निर्वाचन अधिकृतको भूमिका निभाएका थिए ।

घटना सार्वजनिक भएपछि शिक्षा विकास तथा समन्वय इकाई बैतडी र दशरथचन्द नगरपालिकाले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । तर चार दिनसम्मको प्रक्रिया सोधपुछ र जानकारी संकलनमै सीमित देखिएको छ ।

प्रधानाध्यापक जोशी गत शनिवार नेपाली कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतको भूमिकामा सहभागी भएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सरकारी विद्यालयमा कार्यरत प्रधानाध्यापक राजनीतिक दलको कार्यक्रममा सहभागी भएको तस्बिर बाहिरिएपछि सामाजिक सञ्जालमा उनको भूमिकालाई लिएर प्रश्न उठेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई बैतडीले घटनाबारे सम्बन्धित स्थानीय तहसँग जानकारी लिएको जनाएको छ । इकाई प्रमुख दशरथ भट्टका अनुसार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि स्थानीय तहलाई पत्राचार गरिएको हो । स्थानीय तहबाट आधिकारिक विवरण प्राप्त भएपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।

भट्टले भने, ‘सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि हामीले स्थानीय तहलाई पत्राचार गरेका छौँ । घटनाबारे जानकारी आएपछि कानुनअनुसार कारबाही गर्छौँ ।’

इकाईका अनुसार शिक्षक तथा विद्यालयका कर्मचारी राजनीतिक दलका गतिविधिमा संलग्न भएको विषयमा सम्बन्धित निकायले निगरानी तथा आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ । सोहीअनुसार प्रधानाध्यापक जोशीको घटनामा पनि स्थानीय तहबाट आवश्यक विवरण लिएर प्रक्रिया अघि बढाउने तयारी गरिएको इकाईको भनाइ छ ।

यता दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवदत्त सुवेदीले पनि कानुनअनुसार कारबाही हुने बताएका छन् । उनका अनुसार प्रधानाध्यापक जोशीलाई घटनाबारे आवश्यक सोधपुछका लागि बोलाइएको छ । सोधपुछ तथा घटनाको विवरणका आधारमा प्रचलित कारबाही प्रक्रिया अघि बढाइने नगरपालिकाको भनाइ छ ।

प्रधानाध्यापक जोशीले भने आफू नेपाली कांग्रेसको सक्रिय सदस्य वा संगठित कार्यकर्ता नरहेको दाबी गरेका छन् । कांग्रेसको वडा अधिवेशन सम्पन्न गराउन सहयोगका लागि आग्रह गरिएपछि आफू निर्वाचन अधिकृतको भूमिकामा सहभागी भएको उनको भनाइ छ ।

‘म पार्टीको सक्रिय राजनीतिक गतिविधिमा संलग्न छैन,’ उनले भने, ‘अधिवेशन सम्पन्न गराउने क्रममा सहयोगका लागि मात्र सो जिम्मेवारी स्वीकारेको हूँ ।’

अधिवेशन शनिवार भएकाले आफ्नो कारण विद्यालयको नियमित पठनपाठन प्रभावित नभएको जोशीले बताए ।

यसैबीच शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जिल्लाका स्थानीय तहलाई विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भए–नभएको विषयमा निगरानी गर्न र त्यस्तो गतिविधि देखिएमा आवश्यक प्रक्रिया अघि बढाउन भनेको छ ।