पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४६२ जना सङ्क्रमित थपिए

 #कोरोना     २०७८, ९ माघ आईतवार १८:५५     178 जनाले पढ़िसके



Spread the love

देशभर आइतबार ६ हजार ४६२ जना सङ्क्रमित थपिएका छन् । १७ हजार ४३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ हजार ५९८ तथा एन्टिजेन विधिबाट ८६४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशमा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा नै सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौँ २ हजार ८६८ जना सङ्क्रमित थपिएका छन् भने ललितपुरमा ६०२ तथा भक्तपुरमा ३२१ मा सङ्क्रमण पुष्टि भएको छ । कूल सक्रिय सङ्क्रमितमध्ये करिब ६५ प्रतिशत काठमाडौँ उपत्यकामा नै रहेका छन् । पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ३६ हजार २३८, भक्तपुरमा ४ हजार ९११ तथा ललितपुरमा ८ हजार ७ सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।काठमाडौँबाहेक २४ घण्टामा मोरङमा २७५, झापामा १४९, काभ्रेपलाञ्चोकमा १३१, कास्कीमा ९४, रुपन्देहीमा १४९ तथा कैलालीमा १७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल ५ सय भन्दा माथि उपचारार्थ सङ्क्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली छन् । अघिल्लो दिनको तुलनामा सङ्क्रमण दरमा पनि केही कमी आएको देखिएको छ । शनिबारको तथ्याङ्कमा पीसीआर विधिबाट सङ्क्रमण दर ५६.८ प्रतिशत रहेकोमा आइतबार यो घटेर ४१.८ प्रतिशतमा पुगेको छ । एन्टिजेन विधिबाट पनि सङ्क्रमण दर ३५.७ प्रतिशतबाट २१.३ प्रतिशतमा पुगेको छ । समग्रमा सङ्क्रमण दर २१.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।