अवैध असुली गर्न खोज्ने नोबेल मेडिकल कलेजलाई विद्यार्थी संगठनको २४ घण्टे अल्टिमेटम

 संवाददाता    २०७८, २१ पुष बुधबार ०९:२१     142 जनाले पढ़िसके



Spread the love

मोरङ — नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरुद्धमा आन्दोलनमा उत्रेका पीडित विद्यार्थी र विद्यार्थी संगठनले कलेजलाई मंगलबार २४ घण्टे अल्टिमेटम दिएका छन् ।

चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियान र अनेरास्ववियु मोरङले संयुक्त रूपमा विद्यार्थीलाई कुनै किसिमको अतिरिक्त शुल्क नलिई निर्बाध पठनपाठनको व्यवस्था २४ घण्टाभित्र नगरिए कलेजमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

विद्यार्थी संगठनले प्लेकार्डसहित प्रदर्शन गरी कलेजका प्रिन्सिपल डा. रामहरि घिमिरेलाई ज्ञापनपत्र बुझाई २४ घण्टे अल्टिमेटम दिए । उनीहरूले मंगलबार पत्रकार सम्मेलन गरी कलेजले विद्यार्थीहरूमाथि गरिरहेको अन्यायको विरुद्धमा अन्य विद्यार्थी संगठनलगायत राजनीतिक दल, नागरिक समाजलाई आन्दोलनमा सरिक हुन आह्वान गरे ।

गण्डकी मेडिकल कलेजका विद्यार्थी संगठनका नेता तथा चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानका संयोजक मनीष भट्टराईले २४ घण्टाभित्र विद्यार्थीलाई निर्बाध पठनपाठनको व्यवस्था नगरिए कलेज प्रशासनमा तालाबन्दी गर्न बाध्य हुने बताए । विद्यार्थीहरू आन्दोलनमा उत्रेदेखि कलेज प्रशासनले नोबेल मेडिकल कलेजभित्र प्रवेशमा कडाइ गरेको छ ।

कलेज प्रशासनले बिरामीको कुरुवा कार्ड बोकेका बाहेकलाई नोबेल मेडिकलको माथिल्लो तल्लामा प्रवेशमा रोक लगाएको छ । कलेज प्रशासनले एमबीबीएसका विद्यार्थी पढाउने कलेज अस्पतालको चौथो तल्लामा राखेकाले प्रशासनमा तालाबन्दी गर्न जान सहज छैन ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र अतिरिक्त शुल्कको बहानामा विद्यार्थीको पठनपाठन रोकिएको भए कानुनी कारबाही गर्न पत्राचार गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विद्यार्थीहरूलाई कलेजले अतिरिक्त शुल्क मागेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिन आग्रह गरेका छन् ।

अनेरास्ववियु मोरङका नविन पहाडीले कलेज प्रशासनले परीक्षामा आन्तरिक मूल्यांकनको अंक नदिई अनुत्तीर्ण गराउने भएकाले कलेजविरुद्ध उजुरी गर्नु विद्यार्थी र अभिभावकका लागि चुनौतीपूर्ण रहेको सुनाए । उनले बुधबार अपराह्नसम्ममा कलेज प्रशासनले विद्यार्थीको समस्या समाधान नगरे जुनसुकै मूल्यमा कलेज प्रशासनमा तालाबन्दी गर्ने बताए । जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ ।

कलेजमा १ सय विद्यार्थीको कोटा छ, जसमा भर्ना भएका ९६ विद्यार्थीमध्ये कलेजले ९ भारतीय, १० छात्रवृत्तिका र ५ जनाले अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको छ । तर आफूहरूलाई अतिरिक्त शुल्क नबुझाएकाले कलेज प्रवेशमा नै रोक लगाएकाले आन्दोलनलाई निरन्तरता दिएको पीडित विद्यार्थीहरूले गुनासो पोखे ।

कलेजले आयोगले तोके विपरीत पठनपाठन सुरु नगरी ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक र विद्यार्थीले मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर न्यायका लागि अपिल गरे । तर हालसम्म कतैबाट सुनुवाइ भएको छैन ।