प्रहरी हिरासतमा छैनन् सिँचाइ विभागका महानिर्देशक, अब सीआईबीको जिम्मा लगाइने

 संवाददाता    २०८३, १४ कार्तिक शुक्रबार १३:३०     34 जनाले पढ़िसके



Spread the love

सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर उनीहरूको वास्तविक अवस्थाबारे कुनै निकायबाट आधिकारिक जानकारी गराइएको छैन ।

महानिर्देशक रजौरिया र आयोजना प्रमुख रिजाल दुवै अहिले प्रहरी सम्पर्कभन्दा बाहिर छन् । सिन्धुली प्रहरीले समन्वय गरेर काभ्रे हुँदै काठमाडौँ पठाइएको बताएको छ । तर काठमाडौं प्रहरीले भने उनीहरूबारे अनभिज्ञता दर्शाएको छ ।

बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा रजौरियालाई सिन्धुलीस्थित आयोजना कार्यालयबाटै जिल्ला प्रहरी कार्यालय काभ्रेको सम्पर्कमा पठाइएको थियो । सिन्धुली प्रहरीका इन्स्पेक्टर उज्ज्वल कार्कीले रजौरियालाई काभ्रेमा अड्डासार गरेको स्वीकारे । तर, काभ्रेले रजौरियालाई कहाँ पठायो ? यसबारे जिज्ञासा राख्दा काभ्रे प्रहरी प्रमुख एसपी रविन कार्कीले केही बताउन चाहेनन् ।

शुक्रबार बिहानै आयोजना प्रमुख रिजाल पनि काठमाडौँ पठाइए । तर, उनीहरू दुबैजना काठमाडौँ प्रहरीको जानकारी र सम्पर्कमा छैनन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले यो कुरा आफ्नो जानकारीमा नरहेको बताए ।

‘उहाँहरू हाम्रो हिरासतमा हुनुहुन्न, अन्त कतै भए जानकारी भएन’, उनले भने ।

सिन्धुलीका सांसद आशिष गजुरेलले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा भएको विभिन्न हिनामिनाका विषय अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका थिए । महानिर्देशक रजौरिया र आयोजना प्रमुख रिजाललाई सिन्धुलीबाट काठमाडौँ पठाइदिनका लागि पनि सांसद गजुरेलले नै अनुरोध गरेको प्रहरीस्रोतले जनाएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार उनीहरुका विषयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट मुद्दाको अनुसन्धान गर्ने गरी जिम्मेवारी दिइएको छ । तर, सीआईबीले अहिलेसम्म आफ्नो नियन्त्रणमा लिएको छैन ।

‘हिजो प्रधानमन्त्री कार्यालयमा केही सोधपुछ गरिएको थियो, आज प्रहरीको सम्पर्कमा जानका लागि भनिएको छ, अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन’, ती प्रहरी अधिकारीले बताए ।