नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जनामात्र केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरेको छ।
खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्दा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिने निर्वाचन समितिले जनाएको छ।
विनीता खड्काले विजेता भए पनि अदालतमा मुद्दा रहेकाले हाललाई उनलाई निर्वाचन समितिले निर्वाचित घोषित नगरेको हो। प्राप्त मतपरिणामअनुसार विनीता खड्काले २ हजार ८६६ मत पाएकी छिन् ।
उनीमाथि केयरगिभरका रूपमा इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोप छ। अदालतले थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपनि मुद्दाको छिनोफानो भएको छैन।
खुला महिलातर्फ सर्वाधिक मत वासना थापाले पाएकी थिइन्। उनले ५ हजार १९३ मत प्राप्त उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् ।
त्यस्तै कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएकी छिन् ।
निर्वाचित हुनेमा अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन्।
अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छिन् । त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महिला खुलातर्फ ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो।