नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले आज नुवाकोटका बाढीपीडितका लागि निर्माण गरिएका आवास पीडित परिवारलाई हस्तान्तरण गर्दैछन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण भएको अस्थायी आवास आज हस्तान्तरण गर्न लागिएको हो।
एमालेको भातृ संगठन जिफन्टले अस्थायी आवास निर्माणको पहिलो चरणको काम सकेपछि ओलीले आवास हस्तान्तरण गर्न लागेका हुन्।
बुधबार दिउँसो १ बजे पार्टी अध्यक्ष ओलीले आवास हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ। एमालेका स्वयम्सेवकले अस्थायी आवास निर्माण गरेका हुन्।
यसअघि मंगलबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पीडित परिवारलाई अस्थायी आवास हस्तान्तरण गरेका थिए।
नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास प्रचण्डले हस्तान्तरण गरेका हुन्।