मुगुको जिल्लाको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्काभेटर र त्यसका चालक पुरिएका छन् भने सह–चालक घाइते भएका छन् ।
खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा मुगु–रारा भित्री सडक खण्डको बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा सोमबार बिहान करिब ८ः३० बजे माथिबाट एक्कासी सुक्खा पहिरो खसेको थियो ।
पहिरोमा परी बा ३ क ३२७६ नम्बरको एक्काभेटर र त्यसका चालक बझाङ घर भएका २४ वर्षीय बिमल बाग पुरिएका छन् । पहिरोले एक्काभेटरसहित चालक पुरिएपछि खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनामा परी एक्काभेटरका सह–चालक सोरु गाउँपालिका–१ का २२ वर्षीय बिनय मल्ल घाइते भएका छन् । एक्काभेटर बाहिर बसेर ढुंगा खस्छ कि भनेर हेरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले लागेर उनको हात र खुट्टामा चोट लागेको छ । घाइते मल्लको अवस्था सामान्य रहेको र उनले कुराकानी गर्नसक्ने स्थितिमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिराज थपलियाले जानकारी दिए ।
घटनालगत्तै उद्धारका लागि प्रहरी टोली खटिएको छ । इलाका प्रहरी कार्यालय रातापानी, मुगुबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमाण्डमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) आनन्द कुमार प्याकुरेलको कमाण्डमा सात जना गरी कुल १३ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरिरहेको छ ।
उक्त घट्नास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पूर्व र प्रहरी चौकी माझचौरबाट ११ किलोमिटर पश्चिम दूरीमा पर्दछ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।