प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन शाह नेतृत्वको सरकारको ६ महिनाको कामको समीक्षा गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदीय दलका नेता आङ्देम्बेले बलियो सरकार पनि किन कमजोर शासन गरिरहेको छ ? भन्दै प्रश्न गरे।
उनले भने, ‘हामीले परिवर्तन खोजेका हौँ, कुनै व्यक्तिको अहङ्कार खोजेका होइनौँ । हामीले स्थिरता खोजेका हौँ तर स्थापित विधि र परम्पराको संस्थागत उल्लङ्घन र राजकीय व्यवहारमा असन्तुलन होइन । र, सबैभन्दा महत्त्वपूर्ण विषय हामीले सुशासनको सरकार खोजेका हौँ, नेतृत्वको काँचो लहड र हुकुमी दम्भ होइन । शासन कुनै सिद्धान्त र विधिबाट निर्देशित देखिएको छैन । नेतृत्वको इच्छाको शासन हाम्रो चाहना पनि होइन ।’
नेपाली जनताबाट ५ वर्ष अकण्टक शासन चलाउन म्यान्डेट प्राप्त सरकार झिनामसिना मुद्दाहरूमा दिनदिनै अल्झिँदै जाने हो भने नेपाल र नेपालीको विकास र अग्रगमनको सपना फगत मृगतृष्णा हुने देखिएको बताए।
उनले थपे, ‘सरकारसँग रहेको बहुमतको शक्तिलाई आम नेपालीको जीवन उकास्न, मुलुकलाई समृद्धिपथमा अघि बढाउने दिशातर्फ शासकीय कौशलताको सर्वथा अभाव किन देखिएको छ ? यही नै आजको मूल प्रश्न हो ।’
ठूलो शासकीय परिवर्तनको आशा राखेका नागरिकका लागि यो ६ महिना उत्साहजनकभन्दा पनि ‘सङ्क्रमणकालीन अवस्थाकै निरन्तरता’ र ‘जनजीवन कठिन’ नै रहेको तथा शासन अनुभवहीन र ‘भूलचुक लिने–दिने’ अवस्थामा सञ्चालन भइरहेको अनुभूत गरेको बताए।
उनले भने, ‘धरातलीय यथार्थ ज्ञात छ तर सरकारले आफैँले समीक्षा गरिसकेको हुँदा थप केही भनिरहन परेन । नेपाललाई अब अर्को राजनीतिक परिवर्तनको नाममा अर्को अस्थिरता होइन, परिवर्तनलाई परिणाममा बदल्ने सक्षम शासन चाहिएको छ । लोकप्रियतावाद होइन, संवाद चाहिएको छ । एकाधिकार र अधिनायकवाद होइन, सहकार्य चाहिएको छ ।’
सामाजिक सञ्जालबाट घोषणा नभई वास्तविक कार्यान्वयन चाहिएको बताए।
उनले भने, ‘गणितीय सङ्ख्या होइन, प्रभावकारी नतिजा चाहिएको छ । र, शासन मात्र होइन, सामाजिक न्याय, सुशासन र समुन्नति चाहिएको छ । सबैभन्दा ठूलो कुरा निराशामा रहेका जनतालाई सरकार छ भन्ने भरोसा चाहिएको छ । त्यसैले म सोध्न चाहन्छु– जनतालाई आशा जगाउने काम सरकारले कति गरेको छ ? प्रतिपक्षले विरोध गरेपछि मात्र होइन कि सर्वप्रथमतः सरकार आफैँले आफ्नो समीक्षा गरोस् र प्राप्त नतिजा लिएर अर्को अधिवेशनमा संसद्मा आओस् ।’