अध्ययनका लागि अन्यत्र व्यवस्था गर्न माग गर्दै १६ दिनदेखि आवासीय चिकित्सक आन्दोलनमा

 संवाददाता    २०८३, १५ आश्विन बिहीबार १३:०३     24 जनाले पढ़िसके



Spread the love

वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका पहिलो वर्षका आवासीय चिकित्सकहरूले आफूहरूलाई पढ्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। १६ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगसँग पढ्ने वातावरण सुनिश्चित गर्न अनुरोध गरेका हुन्।

दैनिक ३६ घण्टासम्म डिउटी लगाउने, अनावश्यक हाजिरी काटिदिने, विभिन्न निहुँमा कारबाही गर्ने गरिएको भन्दै पीजी पहिलो वर्षका ५५ जना आवासीय चिकित्सक गत भदौ ३१ गतेदेखि आन्दोलनमा छन्। आवसीय चिकित्सक आन्दोलनमा उत्रिएपछि कलेजले स्नातकोत्तर तह प्रथम वर्षको अध्ययनसमेत बन्द गरेको छ।

अर्को सूचना जारी नभएसम्म सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकको कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी डिउटी र अन्य सबै प्रशक्षिण गतिविधि स्थगन गरिएको जनाएको छ।

आवासीय चिकित्सकहरूले भने आफूहरूलाई कुनै अर्को कलेजमा पढ्ने व्यवस्थापन मिलाउन आयोगलाई आग्रह गरेका छन्।

‘अब कलेज जाने वातावरण नै छैन। हामीलाई अरू कलेजमा व्यवस्थापन गर्नुपर्‍यो भनेर आयोगलाई भनेका छौँ,’ एक आवासीय चिकित्सकले भने, ‘१६ दिनदेखि पठनपाठन रोकिएको छ। कलेज हाम्रो माग पूरा गर्न तयार छैन। अब त्यही कलेज फर्केर जान सकिँदैन। अन्त नै व्यवस्थापन हुन पर्‍यो।’

उनले आयोगका पदाधिकारीले हामीले समाधान खोज्दै छौँ भनेर आश्वासन मात्र दिएको बताए।

‘आयोगका पदाधिकारीले समाधान खोज्दै छौँ भन्नुभएको छ। तर लामो समय भइसक्यो। आयोगले नै निधारण गरेको कलेजले यस्तो गर्दा पनि कुनै पहल हुन नसक्नु भने विडम्बना हो,’ उनले भने।

यता मेडिकल कलेजले भने आन्दोलनमा रहेका प्रथम वर्षका आवासीय चिकित्सकका गतिविधिका कारण कलेजको शैक्षिक तथा क्लिनिकल वातावरण प्रभावित भएको भन्दै कलेजले त्रिभुवन विश्वविद्यालयलाई विद्यार्थी फिर्ता गर्नसमेत आग्रह गरेको छ।

शैक्षिक अनुशासन, संस्थागत विश्वास र स्वास्थ्य सेवा प्रभावित हुन नदिन उनीहरूलाई फिर्ता बोलाउन त्रिवि अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) लाई पत्र लेखेको जनाएको छ।