‘म पनि एक्स्ट्राअर्डिनरी बन्ने कोसिस गर्दै छु’, बालेनको वर्गीकरणप्रति रास्वपा महामन्त्रीको प्रतिक्रिया

 संवाददाता    २०८३, १५ आश्विन बिहीबार १२:५५     44 जनाले पढ़िसके



Spread the love

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पार्टीका सांसदहरूलाई वर्गीकरण गरेकाप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुधबार रास्वपाका इन्जिनियर क्षेत्रका सांसदसँग छलफल गर्दै वर्गीकरण सुनाएका थिए।

उनका अनुसार रास्वपामा तीन थरीका सांसद छन्। पहिलो एभरेज, दोस्रो एभरेज भन्दा तल र तेस्रो एक्स्ट्रा अर्डिनरी।

यस क्रममा प्रधानमन्त्री बालेनले इन्जिनियरलाई एक्स्ट्रा अर्डिनरी सांसद भनेर पनि परिभाषित गरेका थिए।

एभरेज सांसद इभेन्टको कुरा गर्छन्, एभरेजभन्दा तलका सांसद मलाई यो गर त्यो गर भन्छन्,’ प्रधानमन्त्रीले भनेका थिए, ‘एक्स्ट्रा अर्डिनरी भएकाले इन्जिनियरले आइडिया र क्रिएटिभको कुरा उठाउनुपर्छ। केही आइडिया भएकाहरूलाई प्रधानमन्त्री कार्यालयले खोज्छ र मसँग सजिलै भेट गराउँछ।’

यसप्रति टिप्पणी गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका आचार्यले आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा आफू पनि ‘एक्स्ट्राअर्डिनरी’ कोसिस गरिरहेको बताएका हुन्।

‘म आफू औसत क्षमताको इन्जिनियर भएर पनि होला, मलाई क्षमता, नियत र तथ्यमा अब्बल हरेक विधाका व्यक्तिहरू एक्स्ट्राअर्डिनरी लाग्छन्। म पनि एक्स्ट्राअर्डिनरी बन्ने इमानदार कोसिस गर्दै छु। आजको कोसिसचाहिँ देशको मुद्रा सम्बन्धमा’, उनले भने, ‘संसारका प्रमुख मुद्राहरू डलर, पाउन्ड, युरो, येनदेखि छिमेकी राष्ट्र चीनको युआन र भारतको भारुसम्मका आफ्नै आधिकारिक मुद्रा चिह्न छन्। तर, हामी भने अझै पनि रुपैयाँको छोटकरी रु र अङ्ग्रेजीको छोटकरी एनपीआरजस्ता सामान्य अक्षरहरूमै सीमित छौँ।’

उनले थपे, ‘आजको डिजिटल अर्थतन्त्र र फिनटेकको युगमा नेपाली मुद्रालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न आफ्नै युनिकोड चिह्न अपरिहार्य छ। एउटा यस्तो चिह्न, जसले देवनागरी लिपिको मौलिकता र हाम्रो सार्वभौम राष्ट्रिय पहिचानलाई एकैसाथ प्रतिविम्बित गरोस्।’

यस्तो छ उनको पूरा भनाइ

सम्माननीय सभामुख महोदय,

म आफू औसत क्षमताको इन्जिनियर भएर पनि होला, मलाई क्षमता, नियत र तथ्यमा अब्बल हरेक विधाका व्यक्तिहरू ‘एक्स्ट्राअर्डिनरी’ लाग्छन्। म पनि एक्स्ट्राअर्डिनरी बन्ने इमानदार कोशिश गर्दैछु। आजको कोसिसचाहिँ देशको मुद्रा सम्बन्धमा। संसारका प्रमुख मुद्राहरू डलर, पाउन्ड, युरो, येनदेखि छिमेकी राष्ट्र चीनको युआन र भारतको भारुसम्मका आफ्नै आधिकारिक ‘मुद्रा चिह्न’ छन्। तर, हामी भने अझै पनि रुपैयाँको छोटकरी ‘रु.’ र अंग्रेजीको छोटकरी ‘एनपीआर’जस्ता सामान्य अक्षरहरूमै सीमित छौँ। आजको डिजिटल अर्थतन्त्र र फिनटेकको युगमा नेपाली मुद्रालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न आफ्नै ‘युनिकोड’ चिह्न अपरिहार्य छ। एउटा यस्तो चिह्न, जसले देवनागरी लिपिको मौलिकता र हाम्रो सार्वभौम राष्ट्रिय पहिचानलाई एकैसाथ प्रतिविम्बित गरोस्। तसर्थ, खुला प्रतिस्पर्धामार्फत सर्वोत्कृष्ट डिजाइन चयन गरी नेपाली रुपैयाँलाई एउटा नयाँ, आधुनिक र मौलिक ‘मुद्रा चिह्न’ प्रदान गर्न म नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँछु।

प्रधानमन्त्रीले सांसदको वर्गीकरण गरेपछि यसबारे रास्वपा महामन्त्री आचार्यले पहिलोपटक टिप्पणी गरेका हुन्।