नेपाली कांग्रेस १५औँ महाधिवेशन अन्तर्गत काभ्रे प्रतिनिधिसभा निर्वाचन-२ मा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचनको कुनै प्रक्रिया नपुर्याई सहमति गरेको भन्दै सानेपामा उजुरी परेको छ ।
केहीले आफूखुसी सहमति गरिएको भन्दै असन्तुष्ट उम्मेदवारहरूले केन्द्रीय निर्वाचन समिति सानेपामा उजुरी दर्ता गराएका हुन्।
२५ उम्मेदवारको हस्ताक्षरसहित निर्वाचन प्रक्रिया गराउन माग गर्दै गरेका छन्। उम्मेदवारहरूको अन्तिम नामावली समेत प्रकाशन गर्न रोक लगाई सहमति गर्ने भनी स्वघोषित केहीले निर्वाचन प्रक्रियालाई प्रभावित पारेको पत्रमा उल्लेख छ।
पत्रमा भनिएको छ, ‘कोही कसै उम्मेदवारसँग सम्पर्क नगरी असोज १३ गते साँझ ६ बजे एक तथाकथित भ्रामक सूचनाद्वारा सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न भएको भन्ने विद्युतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएकाले उक्त सूचनालाई आधार मानी पार्टीको विधान, निर्वाचन परिचालन ऐन र अन्य प्रचलित कानूनको आधारमा बदरभागी हुने हुनाले बाँकी निर्वाचन प्रक्रिया सुचारु गराउन माग गर्दैर्छौँ।’