धरान मेयरको कार्यकक्षमा फिनेल प्रकरण, विद्यार्थीलाई कसले दियो ?

 संवाददाता    २०८३, १३ आश्विन मंगलवार १५:२७     15 जनाले पढ़िसके



Spread the love

धरानमा रहेका दुईवटा विद्यालयमा शिक्षक नियुक्तिको माग गर्दै आमरण अनशन बसेका रोजन शङ्करले दुई दिनअघि कार्यवाहक मेयरको कार्यकक्षमै फिनेल खाए । अहिले यो विषय सामाजिक सञ्जालमा विवादित बनिरहेको छ ।

फिनेल खाएका शङ्करको अवस्था सामान्य भए पनि उनी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा नै छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भीषणबहादुर राईले शङ्कर ठिक भइसकेको बताए । अवस्था सुधार भए पनि अब्जरभेसनामा राखिएको उनको भनाइ छ ।

धरान ११ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा तीन वर्षदेखि नेपाली विषयको शिक्षक नभएको र धरानको ६ पानवारिमा रहेको सरस्वती माविमा सामाजिक शिक्षक नभएको भन्दै बालसञ्जालको नेतृत्वमा आन्दोलन हुँदै आएको थियो । शिक्षक व्यवस्थापनको माग राख्दै गत बिहीबारदेखि आन्दोलनमा रहेका बालसञ्जालमा आबद्ध विद्यार्थीहरूको माग सुनुवाइ नभएपछि सञ्जालका पूर्वअध्यक्ष शङ्कर आमरण अनशनमा बसेका थिए ।

बाल सञ्जालले आन्दोलन सुरु गरेपछि ‘नेचर धरान’ नामक संस्थाले समेत सो आन्दोलनलाई साथ दिएको थियो । धरानका केही राजनीतिक दलका नेताहरूले समेत समर्थन गरेका थिए । सुनसरी क्षेत्र नम्बर १ बाट रास्वपा बाट उम्मेदवार बनेकी गोमा तामाङ सरिनसमेत सो आन्दोलनमा पुग्ने गरेकी थिइन् । फिनेल खाँदा उनी घटनास्थलमै थिइन् ।

आमरण अनशनमा बसेका शङ्करले सवैका अगाडि फिनेल खाएका थिए । घटनापछि फिनेल कसले, कहाँबाट र कसरी अनशन स्थलसम्म पुर्‍यायो भन्ने प्रश्न उठेको छ । यस विषयमा अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

सार्वजनिक भएको भिडियोमा एक जना युवाले रातो झोला शंकरलाई दिएको देखिन्छ । झोला दिने व्यक्ति बाल सञ्जालका पदाधिकारी हुन् । सोही झोलामा फिनेल दिएको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरी नायब उपरीक्षक राईले घटनाका विषयमा छानबिन र अनुसन्धान भइरहेको बताए । उनले भने, ‘अहिले नै यसै भन्न सक्ने अवस्था छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’

फिनेल खानुभन्दा डेढ घण्टा अगाडि नै थियो हल्ला

अनशनमा बसेका शङ्करले फिनेल खानु भन्दा अगाडि नै फिनेल खाने तयारी भएको हल्ला धरानमा कन्टेन्ट क्रिएटरहरुका बिचमा फैलिएको थियो । केही पत्रकारहरूलाई समेत फिनेल खाने बारेको सूचना दिइएको थियो । सूचना पाएपछि केही पत्रकार अनशन स्थलमा समेत पुगेका थिए ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले आफूलाई समेत जानकारी आएको बताए । घटनापछि भएको सर्वपक्षीय बैठकमा गोमा तामाङ सरिनले आफूलाई सञ्चिता धमलाले फोनमार्फत जानकारी दिएको बताएकी छन् ।

तामाङका अनुसार धमलाले फोन गरेर ‘अनशन बसेका रोजनले आत्मदाह गर्ने भन्दै फिनेल सेवन गर्दैछन्’ भनी जानकारी दिएकी थिइन् । त्यसपछि आफूले फोनमार्फत रोजनलाई त्यस्तो नगर्न आग्रह गरेको र त्यसपछि तत्काल अनशनस्थल पुगेको केही समयमै रोजनले फिनेल सेवन गरेको तामाङले बैठकमा बताइन् ।

सो विषयलाई लिएर कतिपयले फिनेल नै धमलाले दिएको भन्दै उनको आलोचना गरेका छन् । तर धमलाले भने यसको प्रतिवाद गरेकी छन् । धरानका कावा प्रमुख अइन्द्रबिक्रम बेघाले फिनेल अनशन स्थलमा कसरी पुग्यो भन्ने कुरा सिसिटिभी फुटेज हेरेर सार्वजनिक गर्ने बताए ।