‘बालेन सरकारको पञ्चायती शैली’ भन्दै चोलेन्द्र पक्राउमा कांग्रेसको आपत्ति

 संवाददाता    २०८३, १२ आश्विन सोमबार १५:३७     27 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले बालेन सरकार निरङ्कुश शैलीमा अघि बढेको आरोप लगाएका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गरिएको गिरफ्तारीलाई पञ्चायती शासनको पुनरावृत्ति भन्दै आपत्ति जनाए। सांसद ढुंगानाले कानुनको शासन उपहास भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर बिना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ,’ ढुंगानाले भने, ‘दुई तिहाइको दम्भमा सरकारले स्वेच्छाचारी निर्णय लिइरहेको छ। जुनसुकै घटनामा सरकारले संसदलाई जानकारी दिनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक दायित्व बिर्सन मिल्दैन।’

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी र अन्य समसामयिक घटनाहरूको सन्दर्भमा प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे। बाढीपीडितको अवस्था र पछिल्ला प्राकृतिक विपद्का घटनाहरूबारे पनि सरकार मौन रहेको भन्दै उनले शूल्य समयमा बोलेका कुराको सुनुवाइ नभएको गुनासो गरे।

त्यस्तै, सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा भने हुकुमी शासन लाद्न खोजेको ढुंगानाको ठहर छ। उनले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली जनता र युवा पुस्ता बलिदान दिन पनि तयार रहेको चेतावनी दिँदै सरकारलाई सच्चिन आग्रह गरे।

सरकार निरङ्कुशतातर्फ नै अघि बढिरहने हो भने त्यसले देशलाई गम्भीर दुर्घटनातर्फ धकेल्ने उनको भनाइ छ।