नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना कारण भीआईपीलाई पक्राउ गर्ने क्रम जारी रहेमा सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।
सिंहदरबारस्थित संघीय संसद् भवनमा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारको नियत ठीक नदेखिएको बताए। यस्ता कदम सरकारकै लागि घातक हुने उनको भनाइ थियो।
‘यो सरकारको लागि भारी पर्छ। यही तरिकाले सरकार चलाउने कोशिस, दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्न चाहन्छु,’ प्रचण्डले भने।
अरुलाई तर्साउन पूर्वप्रधानन्यायाधीश राणाले पक्राउ गरिएको हुनसक्ने उनको आकलन छ। प्रचण्डले भने, ‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ।’
सुरक्षा ‘थ्रेट’का बहानामा दुःख दिन नहुने उनले बताए। साच्चिकै सुरक्षा ‘थ्रेट’ भएमा घरमै सुरक्षाकर्मी बढाउनुपर्ने उनले बताए। ‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो। त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ उनले थपे, ‘सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिन पर्यो नि!’
उनले यस्ता घटना नदोहोरिन नदिन सरकारसँग आग्रह गरेका छन्। यससँगै प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा बोलेको विषयमा पनि प्रश्न गरिएको थियो।
त्यसको जवाफमा प्रचण्डले भने, ‘बालेनले राष्ट्रसंघमा जे बोल्नुपर्थ्यो त्यही बोले, उनको ठाउँमा अरु जो भए पनि त्यही बोल्थे। अनावश्यक बढाइचढाइ गर्न जरुरी छैन।’