आज दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको अद्यावधिक बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी तथा मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

देशका विभिन्न स्थानसँगै आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ।
मौसम महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकामा दिउँसोतिर वर्षा हुने सम्भावना छ।
‘त्यस्तै दिउँसो ११ बजेपछि वर्षाको सम्भावना बढी छ’, उनले भनिन्।
उनका अनुसार त्यसअघि भने काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, घाम-बादल हुने सम्भावना छ।
‘एकछिन मौसम खुलेजस्तो भए पनि फेरि बादल लाग्ने हुन्छ’, मौसमविद् महर्जनले भनिन्।