आफूले भोगेको बाढीको पीडाले जोड्यो: सेतीपीडितबाट भोटेकोशीपीडितलाई सहयोग

 संवाददाता    २०८३, २५ भाद्र बिहीबार ११:५१     21 जनाले पढ़िसके



Spread the love

सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि सात लाख ९३ हजार ७७५ रुपैयाँ सहयोग गरेका छन् ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको हो । सङ्कलित रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

सार्दिखोलावासीले १४ वर्षअघि सेती नदीमा आएको विनाशकारी बाढीको पीडा आफैँ भोगेका थिए । विसं २०६९ वैशाख २३ गते शनिबारको दिन थियो । सार्दिखोलाको खारपानी बजारमा चहलपहल त्यो दिन अझ बढी थियो । सार्वजनिक बिदाको दिन भएकाले वनभोज जाने समेत प्रशस्त थिए ।

अन्नपूर्ण चौथो हिमालबाट खसेको हिमपहिरोका कारण सेती नदीमा आएको अप्रत्याशित बाढीले सार्दिखोलाको खारपानी बजार क्षणभरमै बगरमा परिणत भएको थियो ।

बाढीमा स्थानीयवासी तथा पर्यटक गरी ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । बाढीले खारपानी बजारका घर तथा अन्य भौतिक संरचनासहित झोलुङ्गे पुल र प्रसिद्ध तातोपानी कुण्डसमेत बगाएको थियो । बाढीले क्षति पुर्‍याएको खारपानी बजार अझै पुनःस्थापित हुन सकेको छैन ।

आफूले विगतमा भोगेको विपद्को पीडा सम्झिँदै सार्दिखोलावासीले भोटेकोशी बाढीपीडितका लागि आफ्नो क्षमताअनुसार सहयोग गरेका हुन् । राहत सङ्कलन अभियानमा डाका १७ वटा टोल विकास समिति, आमासमूह, चेलीबेटी समूह, विभिन्न सङ्घसंस्था तथा स्थानीय नागरिक सहभागी भएको वडाध्यक्ष गणेश आचार्यले बताए ।

उनका अनुसार सबै नागरिकसम्म पुगेर सहयोग सङ्कलन गर्न टोल विकास संस्थालाई परिचालन गरिएको थियो । ‘हामीले बाढीको पीडा आफ्नै आँखाले देखेका र भोगेका छौँ । त्यसैले भोटेकोशीसहित विभिन्न जिल्लामा विपद्मा परेका नागरिकको पीडा र दुःख यहाँका नागरिकले बुझेका छन् । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ राहत सङ्कलन अभियान सञ्चालन ग¥यौँ । त्यसमा सबै घरपरिवार सहभागी हुनुभयो,’ वडाध्यक्ष आचार्यले भने ।

विगतमा आफ्नै समुदायले बाढीको पीडा भोगेकाले अहिले विपद्मा परेका नागरिकको सहयोगमा जुट्नु मानवीय दायित्व भएको उनले बताए । सङ्कलित रकममा पारदर्शिता कायम गर्न वडा कार्यालयले सरोकारवालाको उपस्थितिमा रकम सार्वजनिक गरेको थियो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी रकम सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्य र कोषाध्यक्ष विपुल शर्मालाई हस्तान्तरण गरिएको थियो । सहकारीले रकम कोषमा जम्मा गरिसकेको जनाएको छ ।

राहत अभियानमा सहयोग गर्ने व्यक्ति, टोलविकास समिति, आमासमूह, चेलीबेटी समूह तथा विभिन्न सङ्घसंस्थाको नाम र सहयोग रकमको विवरण वडा कार्यालयले अभिलेखमा राख्ने जनाएको छ ।

सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्यले सार्दिखोला र भोटेकोशीबीच भौगोलिक दूरी टाढा भए पनि विपद्को पीडा समान रहेको बताए ।

‘यो सहयोग अहिलेको विपद्का लागि मात्र होइन, समुदायले विपद्का बेला कसरी एकअर्काको साथमा उभिनुपर्छ भन्ने सन्देशसमेत हो । भोलिका दिनमा देशमा जहाँसुकै विपद् पर्दा पनि समुदाय मिलेर सहयोग गर्नुपर्छ भन्ने प्रेरणा यसले नयाँ पुस्तालाई दिनेछ,’ आचार्यले भने ।