रौतहटमा तस्करीको नयाँ जुक्ति, जंगलमै काठ चिरेर ओसारपसार

 संवाददाता    २०८३, २७ श्रावण बुधबार १३:५५     0 View



Spread the love

रौतहटमा काठ तस्करी गर्ने समूहले प्रहरी र वन कर्मचारीलाई झुक्याउन नयाँ–नयाँ जुक्ति अपनाउन थालेका छन् । केही समयअघिसम्म साइकलको स्वरुप नै परिवर्तन गरेर काठ ओसार्ने तस्करले अहिले भने जंगलमै काठ चिरान गरी ‘कडी’ बनाएर लैजान थालेका छन् ।

पहिले जंगलबाट सालका गुलिया काठ काटेर साइकल, मोटरसाइकल वा अन्य साधनमा लुकाएर लैजाने गरिएकोमा पछिल्लो समय काठ काटिएको स्थानमै चिरान गरेर सानो आकारको कडी बनाउने र मौका मिलाएर बाहिर निकाल्ने गरेका छन् ।

यसै क्रममा रौतहटको धनसार र गौँडाटारको सीमा क्षेत्रमा डिभिजन वन कार्यालय रौतहटबाट खटिएको रात्रि गस्ती टोलीले जंगलको बीच भागमा बेवारिसे अवस्थामा राखिएको साल प्रजातिका चिरान काठ बरामद गरेको छ ।

मंगलबार राति करिब साढे ९ बजे धनसार क्षेत्रअन्तर्गतको घना जंगलमा गस्ती गर्ने क्रममा वन कर्मचारीले चिरान काठ फेला पारेका हुन् । गस्ती टोली जंगलको भित्री भागमा पुगेपछि कसैले लुकाएर राखेको अवस्थामा काठ भेटिएको बताइएको छ ।

डिभिजन वन कार्यालय रौतहटका अधिकृत अनिलकुमार महतोका अनुसार बरामद काठ कसले र कुन प्रयोजनका लागि जंगलमा चिरान गरी छाडेको हो भन्ने खुलेको छैन । काठ नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको उनले बताए ।

वन क्षेत्रमा काठ चोरी–निकासी नियन्त्रण गर्न रात्रिकालीन गस्ती बढाइएपछि तस्करहरुले पनि तस्करीको शैली परिवर्तन गर्न थालेको वनकर्मीहरुको भनाइ छ । जंगलमै काठ चिरान गरी सानो आकारमा तयार पार्ने र उपयुक्त समयमा बाहिर निकाल्ने प्रवृत्तिले वन संरक्षणमा थप चुनौती थपिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज ठाकुरले अवैध काठ कटानी, चोरी तथा निकासी नियन्त्रणका लागि रात्रि गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको जानकारी दिए । उनले बरामद काठको परिमाण तथा घटनामा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताए ।