राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईले खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । आज सदनमा बोल्दै उनले हिजो आफैंले गरेको भाषण सम्झेर आज लाज लागेको बताए ।
रास्वपा सभापति रवि लामिछाने निकट प्रसाईंले सम्बोधनको सुरुवातमा भनेका थिए, ‘सभामुखज्यू म कहिलेकाहीँ कन्फ्युज्ड हुन्छु, कसलाई के भनौं, मेरै गाला मेरै चड्कन ।’
आफूले चुनावताका ‘सरकारी कार्यालयहरुमा त्यत्रो लाइन, रास्वपाको पालामा अन्ली अनलाइन’ भनेर गरेको भाषण उनले सम्झिए ।
‘त्यसबेला गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरी, रातभरि, मध्यरातसम्म लाइन बसेका दृष्यले मलाई त साँच्चिकै लाज लागेको छ,’ उनले भने ।
प्रसाईंले सरकारसामू दुईवटा प्रश्त तेर्स्याए, जुन यस्ता थिएः
पहिलो प्रश्नः प्रधानमन्त्री र मन्त्रीहरुका क्वार्टरमा अहिले ग्यासको अभाव छ कि छैन ?
दोस्रो प्रश्नः यदि कृतिम अभाव सिर्जना भएको र सरकारले भनेजस्तै ग्यास ह्रवारह्वार्ति आएर पनि कालोबजारी भइरहेको भए कालोबजारी गर्नेहरुलाई कानूनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाइको सरकारलाई ?
प्रसाईंले जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला र ह्याण्डसम अनुहार खोजेको नभएर नयाँ चरित्र खोजेको बताए ।