नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रिय रेकर्डमा राखिरामख्न मिल्ने भन्दै सच्याउन वा हटाउन माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले शाहले दिएको ‘नेपाललले पनि भारतको भूमि मिचेको छ’ अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका हुन्। उनले उक्त अभिव्यक्ति संसदबाट नहटेसम्म विपक्षी दलहरूको अवरोध कायमै रहने चेतावनी पनि दिए।
उनले राष्ट्रियता र नेपालको भू–भागसँग सम्बन्धित विषय भएकाले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति हटाउन नभए सच्याउनको लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए। दुलालले आवश्यक पर्दा राष्ट्रका लागि रगत बगाउन आफूहरू तयार रहेको तर राष्ट्रहित विरोधी अभिव्यक्ति राष्ट्रिय रेकर्डमा राख्न नसकिने बताए।
उनले भने, ‘यो सदनमा हामीले प्रधानमन्त्रीज्यूले सदनमा आएर नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिएको अभिव्यक्तिलाई सच्याउन अथवा स्पष्टिकरण दिन अथवा हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौँ। जुन माग हामीले छोड्न सक्ने मागको रुपमा रहेको छैन। राष्ट्रियता र हाम्रा जमिनको सवाल छ। हामी राष्ट्रको लागि आवश्यक पर्दा रगत बगाउन सक्छौँ, आफ्नै बलि दिनसक्छौँ। तर हामी राज्यप्रतिको कुनैपनि विवादस्पद भनाईलाई हामी रेकर्डमा राखिराख्न सक्दैनौँ।’
उनले थपे, ‘हामी सबै प्रतिपक्षी दलहरुको तर्फबाट जोडदारका साथ माग गर्न चाहान्छौँ कि यसलाई रेकर्डबाट हटाइयोस् नभए सम्माननीयज्यूबाट रुलिङ होस्। प्रधानमन्त्रीज्यूलाई संसदमा बोलाइयोस्। उहाँले यस विषयमा जवाफ दिनुभयो भने यो विषय समाधान हुन्छ।’
गत जेठ १७ मा प्रधानमन्त्री साहले भारतले मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति हटाउनुपर्ने मागसहित विपक्षीहरूले संसदमा विरोध गर्दै आएका छन्।