पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिका सदस्य झलनाथ खनालले नयाँ राजनीतिक समीकरण बनाउनुभन्दा पहिले विस्तृत छलफल गर्न पार्टीसँग माग गरेका छन्।
प्रदेशहरूमा सत्ता गठबन्धन गर्ने चर्चा चलेपछि नेकपाका नेता खनालले आइतबार विज्ञप्ति जारी गरी ‘अपवित्र साँठगाँठतिर नलाग्न’ पार्टी नेतृत्वलाई चेतावनी दिएका हुन्।
‘यो जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्, आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस् र क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरी राखेर मात्र प्रदेशसभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयोस्’, खनालले लेखेका छन्, ‘केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृतिलाई रोकियोस् र आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाइयोस्। हामी नेपालका सबै कम्युनिस्ट र वामपन्थीहरूले बुझ्नुपर्छ- यो साँठगाँठको बेला होइन, सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला हो।’
यस्तो छ झलनाथ खनालको पूरा वक्तव्य
