नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारसंहिता बनाएको छ।
मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोगबारे आठबुँदे आचारसंहिता जारी गरेको हो।
नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ मा भएको चिकित्सकीय आचारसंहिता प्रावधानहरूको साथै सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार उपयोगका लागि देहायको आचारसंहिता कायम गरिएको छः
(१) दर्तावाल चिकित्सकले आफूले नेपाल मेडिकल काउन्सिलामा दर्ता रहेका बाहेकका उपाधि प्रयोग गर्न गराउन हुँदैन, सामाजिक सञ्जालमा कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिल दर्ता प्रमाणपत्रमा उल्लेखित उपाधि मात्र लेख्न पाइनेछ।
(२) नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यममा लेख्दा तथ्यपरक सान्दर्भिक विषयवस्तु मात्र राख्नुपर्नेछ।
(३) उपचारजन्य कुनै पनि जानकारी दिनुपर्ने भएमा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्न पाइनेछ। साथै सम्भव भएसम्म उक्त तथ्यको पछिल्लो सन्दर्भ सामाग्री (रिफरेन्स) उल्लेख गर्नुपर्नेछ।
(४) कुनै पनि बिरामीसँग सम्बन्धित विषयवस्तुबारे जानकारी दिनुपर्ने भए निजको वा निजको हकवालाको सुसूचित मञ्जुरी (इन्फम्ड कन्सेन्ट लिन अनिवार्य छ। तर बिरामीको परिचय खुल्नेगरी कुनै पनि उपचारजन्य भिडिओ वा तस्बिर सामाजिक सञ्जालमा राख्न पाइने छैन।
(५) उपचारसँग सम्बन्धित रहेर दिइने अनलाइन सुझाव तथा परामर्शको हकमा निम्नानुसार व्यवस्था लागु हुनेछ।
क)अनलाइन परामर्शमा समेत कानुनी पक्ष आकर्षित हुनेहुँदा अनिवार्य रूपमा लिखित अभिलेख राख्नु पर्नेछ ।
ख) अनलाइन परामर्श तथा सुझाव प्रदान गर्दा कुनै पनि रोगको निदान तथा उपचार असहज हुने देखिएमा अनिवार्य रूपमा बिरामीलाई भौतिक चेकजाँच गरेर मात्र उपचारजन्य सुझाव तथा सल्लाह दिनु पर्नेछ।
ग) अनलाइन परामर्श र भौतिक परामर्श दुबैको कानुनी दायित्व बराबर हुने हुँदा सोही अनुरूप गर्न गराउन अनिवार्य छ।
घ) कुनै पनि समस्याका बारेमा अनलाइन छलफल गर्दा आफ्नो धारणा प्रकट गर्न पाइनेछ। तर अन्य व्यक्ति तथा संस्थाका धारणाहरूको आलोचना गर्दा तथ्यपरक ज्ञान तथा जानकारी आवश्यक पर्नेछ। आलोचनात्मक अभिव्यक्तिमा समेत अपमानजनका शब्द प्रयोग गर्न पाइने छैन।
ङ) अनलाइन परामर्शबारे अन्य व्यवस्था नेपाल मेडिकल काउन्सिलको टेलिमेडिसिन गाइडलाइनमा उल्लेख छन्।
(६) सामाजिक सन्जाल प्रयोगको क्रममा आफ्नो सहकर्मी मित्रहरूप्रति अनिवार्य रूपमा नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ मा तोकिएबमोजिमको व्यवहार तथा आचरण पालना गर्नु पर्नेछ।
(७) सहकर्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलौज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न पाइने छैन।
(८) कुनै पनि चिकित्सकले आफ्ना पदीय वा पेसागत मर्यादा विपरितका अभिव्यक्तिहरू सम्प्रेषण गर्न पाइने छैन।

