आज मध्यरातिबाट सुरु हुँदै अहिलेसम्मकै नयाँ स्वरूपको विश्वकप फुटबल

 संवाददाता    २०८३, २८ जेष्ठ बिहीबार ११:३३     21 जनाले पढ़िसके



Spread the love

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप-२०२६ नेपाली समयअनुसार आज (बिहीबार) मध्यराति १२:४५ बजे सुरु हुँदै छ।

ऐतिहासिक समारोहसँगै सुरु हुने यसपटकको विश्वकप फुटबल अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ। किनभने यसपालि विश्वकप पहिलोपटक तीन देश अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन्।

४८ टोलीको सहभागितामा १०४ खेल १६ सहरमा हुनेछन्।

जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्युयोर्कमा समापन हुने विश्वकपको उद्घाटन तीनवटै आयोजक राष्ट्रमा हुने विशेष उद्घाटन समारोहमार्फत गरिनेछ।

विश्वकप अनि उद्घाटन समारोहबारे चलेको ‘हाइप’ वास्तवमा के हो?

यसपटकको विश्वकप उद्घाटन समारोह एउटै सहरमा सीमित रहने छैन। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा क्रमिक रूपमा आयोजना गरिने तीनवटा समारोह एउटै साझा अवधारणा (थिम) मा आधारित हुनेछन्।

प्रसिद्ध अन्तर्राष्ट्रिय क्रिएटिभ निर्देशक मार्को बालिचको नेतृत्वमा तयार गरिएका यी कार्यक्रमले फुटबल प्रेमीलाई भाषा र संस्कृतिभन्दा माथि उठेर एकतामा बाँध्ने सन्देश दिने संकल्प लिएको छ। यसबिच प्रत्येक देशले आफ्नो सांस्कृतिक पहिचानलाई फरक शैलीमा प्रस्तुत गर्नेछन्।

मेक्सिकोले ‘पापेल पिकाडो’ कलामार्फत आफ्नो संस्कृति देखाउनेछ भने क्यानाडाले ‘सांस्कृतिक मोजाइक’ अर्थात् विविधतामा एकताको भाव प्रस्तुत गर्नेछ। अमेरिकाले आधुनिक प्रविधि र चम्किलो दृश्य प्रभावमार्फत आफ्नो पहिचान झल्काउनेछ।

मेक्सिको सहरबाट हुनेछ औपचारिक सुरुआत

विश्वकपको पहिलो उद्घाटन समारोह जुन ११ मा मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेलअघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नेछ।

आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। साथै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरूले पनि प्रस्तुति दिने छन्।

समारोहमा साकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरू देखिन सक्ने अपेक्षा छ।

उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ।

नेपाली समयअनुसार खेल मध्यराति १२:४५ बजे हुनेछ। उद्घाटन समारोह राति ८:४५ बजे हुनेछ।

जुन १२ मा क्यानाडामा

जुन १२ मा क्यानाडा टोरन्टोमा उद्घाटन समारोह आयोजना हुनेछ। यो क्यानाडाका लागि विशेष अवसर हुनेछ। किनभने पुरुष राष्ट्रिय टोलीले पहिलोपटक आफ्नै भूमिमा विश्वकप खेल्दै छ।

मेक्सिको र अमेरिकासँग विश्वकप आयोजना गरिसकेको अनुभव छ। क्यानाडा पहिलोपटक यति ठुलो प्रतियोगिता ‘होस्ट’ गर्दै छ।

त्यसैले पनि सम्पूर्ण क्यानेडियन जनताका लागि यो विशेष दिन हुनेछ। ‘फ्रम कोस्ट टु कोस्ट टु कोस्ट’ अर्थात् देशको पूर्वदेखि पश्चिम र उत्तरसम्मको यात्रालाई चित्रण गर्ने विशेष प्रस्तुति समारोहको मुख्य विषय रहनेछ।

क्यानाडाको बहुसांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गरिनेछ।

समारोहमा अलानिस मेरिसेट, अलेसिया कारा, माइकल बुब्ले, जेसी रेयेज, नोरा फतेह, एलियाना सन्जोय, भेगेड्रिम र विलियम प्रिन्सलगायत कलाकारहरूले प्रस्तुति दिने अपेक्षा गरिएको छ।

समारोहपछि क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनासँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ।

खेल नेपाली समयअनुसार मध्यराति १२:४५ बजे हुनेछ। उद्घाटन समारोह राति ११:१५ बजे हुनेछ।

लस एन्जलस (जुन १२) अमेरिकाको उद्घाटन समारोह पनि जुन १२ मा लस एन्जलसमा आयोजना हुनेछ।

मनोरञ्जन केन्द्र मानिने सहरमा आयोजना हुने यो कार्यक्रमले अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड प्रस्तुति दिनेछ।

कार्यक्रममा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइलाजस्ता विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुति दिने सम्भावना छ।

आयोजकहरूका अनुसार यो समारोहले अमेरिकाको सांस्कृतिक विविधता र विश्व मनोरञ्जन क्षेत्रमा रहेको प्रभाव झल्काउनेछ।

समारोहपछि अमेरिकाले पाराग्वेसँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ । खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे हुनेछ । उद्घाटन समारोह बिहान ५ः१५ बजेबाट हुनेछ ।