आज (आइतबार) देशका कतै हिमपात र वर्षा त कतै अत्यधिक गर्मीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अहिले भने बागमती प्रदेशसहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा साधारणतया र कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लागेको छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
मौसमविद्का अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव छ।
जसका कारण दिउँसो कोसी प्रदेशसहित देशका हिमाली क्षेत्रमा साधारणतया र मधेस प्रदेशसहित बाँकी पहाडी भेगमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा भने मुख्यतया सफा रहने छ। अनि कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान साथै मधेस प्रदेशसहित बाँकी हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ, अनि यिनै प्रदेशका हिमाली/पहाडी भेगमा हिमपात हुने सम्भावना छ। मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ।
यस्तै आज राति कोसी प्रदेशसहित देशको हिमाली भेगमा साधारणतया र मधेस प्रदेश र बाँकी पहाडी भेगमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। अनि कोसी प्रदेशका थोरै स्थान, मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यिनै प्रदेशका पहाडी/हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
आज दिनभर कस्तो होला काठमाडौँ उपत्यकाको मौसम
आज काठमाडौँ उपत्यकामा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज दिनभर उपत्यकाको मौसम घाम–बादल, बादल–घाम हुने सम्भावना छ।
‘मध्याह्न वा अपराह्नपछि भने क्षणिक वर्षा पनि हुने सम्भावना छ’, उनले भने, ‘आइसोलेटेड टाइपको वर्षा हुन्छ अर्थात् काठमाडौँ उपत्यकाकै एक ठाउँमा पानी पर्दा अर्काे ठाउँमा नपर्ने हुन्छ।’
मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्रीसम्म पुग्ने आकलन छ।