बल्खुको सुकुमवासी बस्तीमा बिहानदेखि डोजर

 संवाददाता    २०८३, १८ बैशाख शुक्रबार १०:५०     9 जनाले पढ़िसके



Spread the love

काठमाडौँस्थित बल्खुको सुकुमवासी बस्तीमा पनि आज बिहानदेखि सरकारले डोजर चलाएको छ।

बल्खुको नदीकिनार क्षेत्रमा बनाइएका घरटहरामा सहरी विकास मन्त्रालयले आज बिहानदेखि डोजर चलाउन थालेको हो।

काठमाडौँ उपत्यकामा बागमती नदी तथा सहायक नदी किनारमा रहेका बस्ती भत्काउन सुरु गरिएको सरकारले जनाएको छ।

पहिलो चरणमा सरकारले सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती हटाएको थियो।

अहिले दोस्रो चरणमा बल्खुस्थित नदी किनारका अव्यवस्थित बस्ती हटाउन थालिएको हो।

उक्त बस्तीबाट विस्थापित नागरिकलाई दशरथ रंगशाला लगिने मन्त्रालयले जनाएको छ। त्यसका लागि रंगशालामा तीनवटा सहायता कक्ष स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ।

पहिलो कक्षमा सूचना तथा तथ्यांक संकलन गर्ने, दोस्रोमा सुकुमवासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण संकलन र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्यांक संकलन गर्ने तयारी छ।

त्यस्तै होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामान जस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायको सहयोग रहने जनाइएको छ। आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था पनि गरिएको मन्त्रालयले जनाएको छ।

संकलित विवरणका आधारमा सुकुमवासी पहिचान तथा प्रमाणीकरण गरिनेछ। पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ।

वास्तविक सुकुमवासी परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग गरिने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।