रोल्पा जलजलामा हिजो भएको जीप दुर्घटनाका मृतकको पहिचान गरी शव परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ ।
दुर्घटनास्थलमा आज बिहानैदेखि थप खोज तथा उद्धार कार्य सुरू गरिएको छ । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो ।
रोल्पाका सीडीओ गंगाबहादुर क्षेत्रीका अनुसार शव पहिचान गरी आफन्तलाई जिम्मा लगाउने काम आज हुनेछ ।
रुकुमपूर्वबाट थवाङ गाउँपालिका-१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप बिहीबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा २० जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् ।
रुकुमपूर्व सिस्ने गाउँपालिका-५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनलाई राति नै रुकुम पूर्व अस्पतालबाट रिफर गरिएको छ ।
भौगोलिक विकटताका कारण शव संकलन गरी दुर्घटनास्थल नजिकै राखिएको छ । उद्धार कार्यमा हेलिकप्टर समेत प्रयोग गर्ने गरी तयारी गरिएको सीडीओ क्षेत्रीले बताए ।