जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) सुदूरपश्चिमदेखि कोसी प्रदेशसम्म देशका धेरै जिल्लामा तीव्र वेगको हुरी आउने सम्भावना रहेको जानकारी दिँदै सम्बन्धित क्षेत्रका बासिन्दालाई सजगता अपनाउन सुझाव दिएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे ‘हावाहुरीसम्बन्धी चेतावनी-१’ जारी गरी देशका धेरै स्थानमा अपराह्न ४ बजेदेखि हुरी चल्ने सम्भावना देखिएको जानकारी दिएको हो।
चेतावनीमा लेखिएको छ, ‘आज वैशाख १६ गते बुधबार, सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासका जिल्ला, गण्डकी र बागमती प्रदेशका नवलपुर र चितवनसहित आसपासका जिल्ला, मधेस प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्ला र कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’
आज अपराह्न ४ बजे सुरु हुने हुरी बिहीबार बिहान ६:४५ बजे मात्र थामिने सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ।

यस विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सतर्कता सूचना जारी गरेको छ।
तीव्र हुरीका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायतका जोखिम रहने प्राधिकरणले जनाएको छ।
तसर्थ ती स्थानमा रहने वा उक्त समयावधिमा त्यहाँ जाने सबैले सावधानी अपनाउन जरुरी रहेको जनाउँदै प्राधिकरणले दिएका सुझाव यस्ता छन्:
-सकेसम्म घरबाहिर हिँडडुल नगर्ने
-घरको झ्यालढोका राम्रोसँग बन्द गर्ने
-जस्तालगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउने
-घरबाहिर आगो नबाल्ने, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउने
-लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्ने
-बिजुलीको तार लत्रिएको छ भने नछुने
-उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम हुने भएकाले चनाखो रहने
आज वर्षाको सम्भावना भने यस्तो छ
दिउँसो: कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।
राति : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्
