‘चुचुरोमा पुगेर बसिरहन असम्भव’ — रास्वपाप्रति लिङ्देनको टिप्पणी

 संवाददाता    २०८३, १३ बैशाख आईतवार १०:५०     11 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनमा राप्रपाले गणित गुमाएको तर राजनीति नहारेको बताएका छन् ।

पार्टी केन्द्रीय सचिवालयले गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम अन्तर्गत तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले तुलनात्मक रुपमा केही सिट गुमाए पनि आफ्नो एजेण्डाको आवश्यकता देशले महशुस गरिरहेको बताए ।
‘हालैको निर्वाचनमा रास्वपाको क्रमिक सुधार भन्दा पनि चमत्कारिक परिणाम आयो, अर्कोपटक यो भन्दा राम्रो पोजिसन दिनुपर्छ भन्ने ठाऊँ नै नराखी परिणाम दियो, सगरमाथाको चुचुरोमा पुगेपछि त्यहाँ बसिरहन पनि सम्भव छैन, त्यहाँभन्दा माथि जाने ठाउँ पनि छैन, झर्नैपर्छ,’ अध्यक्ष लिङ्देनले भने ।

‘राप्रपा देशको भरपर्दो विकल्प बनेर खडा हुन सक्नुपर्छ,’ कार्यकर्तालाई ढाडस दिँदै उनले भने, ‘हामी बाहेक जनताको भरोसायोग्य दल अर्को हुनै सक्दैन तर हामी योजनाबद्ध ढंगबाट अघि बढ्नुपर्छ।’

अध्यक्ष लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको स्पष्ट पारे । राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी हो, राजा र राजसंस्था कुनै पार्टीको नहुने र राजसंस्थाको पनि कुनै पार्टी नहुने भन्दै अध्यक्ष लिङ्देनले राजसंस्था कुनै पार्टी, संगठन र विचारभन्दा माथि रहेको बताए । राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरु राजसंस्थाको पक्षपाती नभएको बताए ।

फागुन २१ गते भएको निर्वाचनअघि आएको पूर्वराजाको सम्बोधनलाई लिएर कतिपय राजसंस्थावादीले राप्रपा निर्वाचनमा जानु गल्ती भएको भनेर टिप्पणी गरिरहेका बेला अध्यक्ष लिङ्देनको प्रष्टोक्ति आएको हो । ‘राप्रपा निर्वाचनमा नगएको भए के हुन्थ्यो ?,’ अध्यक्ष लिङ्देनले प्रतिप्रश्न गर्दै भने, ‘राप्रपा निर्वाचनमा नगएको भए आजको राजनीतिक परिदृश्य र संसदीय मञ्चबाट राप्रपा र राजसंस्थाको पक्षपाती शक्तिको हालत के हुन्थ्यो ? आफूलाई राजसंस्थावादी भन्नेहरुले राप्रपा भन्ने अस्तित्वमै नरहोस् भन्ने चाहेका हुन् ? संसदमा राजसंस्थाको एजेण्डा राप्रपाकै कारणले घन्किरहेको छैन ?’

गणतन्त्रको सरकार र यसभित्रको भूमिकामा जानुहुँदैन भनेर टिप्पणी गर्नेहरुप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले सरकारका पदहरुमा नजाँदैमा पार्टी ठूलो हुने भए नेमकिपा र राष्ट्रिय जनमोर्चाजस्ता पार्टी कमजोर नभएर ठूलो हुनुपर्ने नि त भन्ने तर्क प्रस्तुत गरे । आफ्नो दर्शन र सिद्धान्तमा प्रतिवद्ध रहँदै जनताको सेवा गर्ने भूमिकाहरु पनि लिनुपर्ने अध्यक्ष लिङ्देनको भनाइ थियो ।

पार्टीमा चलिरहेको विवादका बारेमा मुख खोल्दै लिङ्देनले चुनाव अघिसम्म सबैलाई मिलाएर लैजाने प्रयास गर्दा आफुलाई कमजोर सोचेर पार्टीका नेताकार्यकर्ताले अनुशासन विपरित मनपरी कार्य गरेको भन्दै हाल अनुशासनको कारबाही चलाउन आरम्भ गरेको प्रष्ट पारे । चुनाव अघिसम्म आफ्नै अघि भएको कार्यक्रममा हातपातमा उत्रने साथीहरुलाई समेत माफी दिए पनि अब त्यस्ता प्रवृत्तिसँग सम्झौता नगर्ने लिङ्देनको स्पष्टोक्ति छ। उनले आफू हदैसम्म लचिलो भएको तर त्यसलाई नेतृत्वको कमजोरी सम्झेर पार्टी सदस्यको सीमा मर्यादा उल्लङ्घन गरी अनुशासन विपरित कार्य गर्ने कसैलाई पनि अब नछोडिने पनि स्पष्ट पारे ।

पार्टीमा एकपक्षले महाधिवेशनको रटान लगाएको भन्दै उनले जिल्ला अधिवेशन सम्पन्न हुने बित्तिकै महाधिवेशन गरिने बताए । महाधिवेशनको मिति आफूले तय गर्ने नभएर आसन्न केन्द्रीय समितिले गर्ने लिङ्देनको भनाइ छ । ‘सबै प्रदेशको समीक्षा सकिनासाथ केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ, त्यो बैठकले केन्द्रीय समितिको बैठकको मिति तय गर्छ र केन्द्रीय समितिले महाधिवेशनको कार्यक्रम ल्याउँछ,’ लिङ्देनले भने। यथाशक्य महाधिवेशन गर्न आफू तत्पर रहेको, महाधिवेशन टार्ने कुनै नियत नभएको भन्दै लिङ्देनले महाधिवेशनमा कार्यकर्ताको माझबाट अध्यक्ष चुनिएर आउने सुविधा सबैलाई भएको तर महाधिवेशन अगावै पार्टीको हितविरुद्ध गतिविधि गर्ने सुविधा कसैलाई नभएको पनि प्रष्ट पारे ।

राप्रपाले हालै सम्पन्न निर्वाचनको प्रदेश तहमा पुगेर समीक्षा गरिरहेको छ। सातवटै प्रदेशमा समीक्षा गर्ने क्रममा मधेश प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशमा समीक्षा बैठक सम्पन्न भएको, बैशाख १४ गते लुम्बिनी प्रदेशको भैरहवामा, बैशाख १५ गते बागमती प्रदेशको हेटौँडामा र बैशाख १७ गते सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा समीक्षा बैठक तय गरेको छ। कर्णाली प्रदेशको भने मिति तय हुन बाँकी छ।