जयबागेश्वरी क्षेत्रका ७५ वटा भवनहरूलाई मौलिक स्वरूपमा रूपान्तरण गरिँदै

 संवाददाता    २०८२, २४ पुष बिहीबार १२:४४     55 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिकाका वडा नं ८ जयबागेश्वरी क्षेत्रका ७५ वटा भवनहरूलाई मौलिक स्वरूपमा रूपान्तरण गर्न लागिएको छ । यसका लागि बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर ९ करोड ४ लाख ८९ हजार ३७७ रुपैयाँमा सम्झौता भइसकेको छ । यसको लागत अनुमान १० करोड ९० लाख ५७ हजार ९४४ रुपैयाँ थियो ।

यस योजनाअन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको २९० मिटर सडक दायाँबायाँ रहेका घरहरूको सडकतर्फको मोहडालाई रूपान्तरण गरेर मल्लकालीन वा राणाकालीन शैलीको स्वरूप प्रदान गरिनेछ ।

स्वामित्वका हिसाबले व्यक्ति वा संस्था जसको भए पनि इतिहासको निश्चित समयावधिमा काठमाडौँ उपत्यकाभित्र विकास भएका वास्तु शैलीलाई परम्परागत मानिएको छ । यसमा मल्लकालदेखि राणा कालसम्मका संरचना पर्छन् । वडा ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन् , ‘मल्लकालीन शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानो जस्ता भाग महत्वपूर्ण हुन्छन् । घरको गारोमा प्रयोग गरिएका इटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको घर मल्लकालीन घरको डिजाइन हो । आधुनिक बनेको संरचनालाई हामीले यही शैली फिर्ता गर्न लागेका हौँ ।’

यस सडकसँग करिब २५० घर परिवार जोडिएका छन् । तीमध्ये सडक वा खुला ठाउँबाट देखिने घरको अगाडिको भागको स्वरूप परिवर्तन गर्न लागिएको संगतको भनाइ छ ।