सहकारीपीडितहरूको प्रदर्शन आज पनि जारी

 संवाददाता    २०८२, १६ मंसिर सोमबार १४:५०     107 जनाले पढ़िसके



Spread the love

सहकारीपीडितहरूले प्रदर्शनलाई जारी राखेका छन्। मंसिर ५ गतेदेखि पीडितहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन्।

उनीहरुले सोमबार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन्। सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रेका हुन्।

आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए।

उनले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरे। ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाइ छ।

सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरुले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको बताए। हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उनको भनाइ छ।

उनले सरकारले पटकपटक वार्ता गरे पनि आफूहरुको माग पूरा नगरेको बताए। कतिपय सहकारी पीडितहरु डिप्रेसनको शिकार समेत बनेको उनको भनाइ छ।