बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू आज पनि धर्नामा

 संवाददाता    २०८२, ९ मंसिर सोमबार १५:३०     107 जनाले पढ़िसके



Spread the love

बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू आज पनि धर्नामा बसेका छन्।

सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन्। सरकारले पीडित सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन्।

सहकारी पीडितहरू बचत रकम फिर्ताको माग गर्दै गत शुक्रबारदेखि धर्नामा बस्दै आएका छन्।

उनीहरूले सहकारी ‘बचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर’, ‘पीडितलाई पीडा दिएर पीडकलाई साथ दिने राजनीतिक मतियार राजीनामा दे’ लगायत नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन्।

आफूहरू रहरले नभई दुःख गरी कमाएर भविष्यको लागि भनेर राखेको बचत फिर्ताको लागि आन्दोलनमा आएको उनीहरूको भनाइ छ। आन्दोलनरत एक सहकारी पीडितले राज्यले आफूहरूको पीडा नसुनिदिएको दुखेसो पोखे।

बचत फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ।