केरुङ नाका करिब पाँच महिनादेखि पूर्ण रूपमा बन्द, व्यवसायीहरू मारमा

 संवाददाता    २०८२, ८ मंसिर आईतवार १०:४६     91 जनाले पढ़िसके



Spread the love

नेपाल र चीनबिचको प्रमुख व्यापारिक नाका केरुङ करिब पाँच महिनादेखि ठप्प छ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरुङ नाका पूर्ण रूपमा बन्द भएको हो ।

बाढीका कारण नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन् ।

नाका ठप्प हुँदा व्यवसायीहरू मारमा परेका छन् । नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरू बाढीपछि चीनतर्फ नै अड्किएका कारण ढुवानी सञ्चालन हुन सकेको छैन । जसका कारण व्यवसायीहरूले आर्थिक संकट झेली रहनु परेको छ ।

यसरी नाका क्षेत्र महिनौँदेखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न समेत सकेको छैन । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य थियो । तर, झन्डै १४ अर्ब राजस्व गुम्न पुगेको छ।

काठमाडौंबाट करिब १३२ किमीको दुरीमा पर्ने यो नाका राजस्व संकलनको हिसाबले देशको पाँचौँ ठूलो भन्सार कार्यालयको रूपमा रहेको थियो । उत्तरी छिमेकी चीनतर्फको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकसित हुँदै गएको यो नाका अहिले ठप्प छ ।

चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपाल तर्फ अवरोध भयका सडकहरू खुली सकेको छ ।