बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङका बेला डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापत बाँकी प्रिमियम महसुल बिहीबार तिरेको छ।
पहिलो किस्ता तिरेपछि यही कात्तिक ४ गते काटिएको त्रिवेणी सिन्थेटिकको विद्युत् बिहीबार साँझ जडान गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापत तिर्नुपर्ने प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।
त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता थियो।
बक्यौतालाई २८ किस्तामा विभाजन गरी त्रिवेणी सिन्थेटिकलले पहिलो किस्तास्वरूप १५ लाख ७१ हजार रुपैयाँ तिरेको हो।
२०८१ चैत ११ गते विनियमावलीअनुसार बक्यौता उठाउन विद्युत् नियमन आयोगमा पत्राचार गर्दा त्यही दिन प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले जेनजी आन्दोलनपछि आफैँ ऊर्जामन्त्री बनेपछि त्यो अभियानलाई कडाइका साथ अघि बढाएका हुन्।
तर अहिले पनि बक्यौता नतिर्ने केही ग्राहकको समर्थनमा, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र श्रमिकहरूमार्फत भावनात्मक दबाब सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले आफू यसमा अडिग रहेको बताएका छन्।
आफू मन्त्री हुनासाथ घिसिङले हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदै उनको स्थानमा मनोज सिलवाललाई ल्याएका हुन्।