यस वर्ष बडादसैंका लागि दलित र ब्राह्मण समुदायको जमरा एकैस्थानमा

 संवाददाता    २०८२, ६ आश्विन सोमबार १६:०२     202 जनाले पढ़िसके



Spread the love

नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष बडादसैंका लागि दलित र ब्राह्मण समुदायको जमरा एकैस्थानमा राखिएको छ। सदियौंदेखिको दलित र ब्राह्मण समुदायको पानी नचल्ने परम्परा तोड्दै बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा घटस्थापनाको दिन जमरा राखिएको हो।

सोमबार साइतमा सामूहिक जमरा राख्ने परम्परालाई स्थानीय ब्राह्मण, क्षेत्री, नेवार, मगर, घर्ती, जनजाति तथा दलित समुदायका मिजार, विक, दमाई, नेपालीका परिवारले निरन्तरता दिएका हुन्।

नेपाल एकीकरणको नुवाकोटबाटै सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि बेलकोटगढीमा रहेको निरञ्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालाई यस पटक बेलकोट र आसपासका दुई सय ४५ घरधुरीका ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको स्थानीय निरन्जना भगवती मन्दिरका मुल पुरोहित नरनाथ पौडेलले बताए।

३४ वर्षदेखि मूल पुरोहितको रूपमा रहेका पौडेलका अनुसार सो मन्दिरमा दुई सय ४३ वर्ष भन्दा लामो समयदेखि सामूहिक रुपमा जमरा राखिँदै आएको छ।

सो नपाले वडादशैंका लागि निरन्जनामा पूजा सञ्चालनका लागि यस वर्ष एकलाख ५० हजार रुपैया उपलब्ध गराएको हो। वेलकोटगढी नपाले गत वर्ष दुई लाख ५० हजार, २०८० सालमा तीन लाख, २०७९ सालमा तीन लाख, २०७८ सालमा दुई लाख, २०७७ सालमा दुई लाख, २०७६ सालमा दुई लाख, २०७५ सालमा एकलाख ४० हजार र २०७४ सालमा एकलाख २० हजार रुपैयाँ उपलब्ध गराएको थियो। उक्त रकमबाटै सो मन्दिरमा नवरात्रको अवधिभर पूजापाठ हुँदै आएको छ ।