गुरु भट्टराई ,
२०८२ साल भाद्र २३ र २४ गते नेपालमा देखिएको जेन-जी आन्दोलन केवल एक राजनीतिक प्रदर्शन मात्र थिएन। यो विगत तीन दशकभन्दा लामो समयदेखि थिचिएका असन्तुष्टि र निराशाको विस्फोट थियो। तत्कालीन कारण सरकारद्वारा सामाजिक सञ्जालमाथि गरिएको नियन्त्रण भनियतापनि यसको जरा गहिरो संरचनात्मक समस्यामा गढिएको थियो ।
आन्दोलन आव्हान गर्ने जेन – जी पुस्ताहरुका असन्तुष्टी स्वभाविक, तथ्य र सत्यतामा आधारित नै थिए । पुराना नेताहरुको तानाशाही शैली, चरम भ्रष्टाचार, कुशासन, दण्डहिनता, नेपोटिज्म, बेरोजगारी, अस्वस्थ राजनीतिक प्रतिस्पर्धा , केही नेता, कर्मचारी र तिनका सन्तानहरुको अश्वभाविक र वैभवशाली जीवनशैलीले युवा र आम जनतालाइ असन्तुष्टीको चरम सीमामा पुर्याएको थियो । यस आन्तरिक समस्यामा खेलेर नेपालमा अप्रिय विद्रोह र ध्वंश गर्न भूराजनीतिक शक्तिहरु मौका हेरिरहेकै थिए ।
लोकतन्त्रको नाममा दशकौँदेखि उही अनुहारहरूले सत्तामा कब्जा जमाए, जसले युवा पुस्तामा ‘समान अवसर’ भन्ने विश्वास नै हरायो। निरन्तरको शक्ति-लालसाले राजनीतिक प्रणालीलाई लोकतान्त्रिकभन्दा बढी तानाशाही चरित्रतर्फ धकेलेको अनुभूति भएकै थियो ।
अर्कोतर्फ नेपालको शासन प्रणालीमा सबभन्दा गहिरो रोग भनेकै भ्रष्टाचार र त्यसलाई संरक्षण गर्ने दण्डहीनता मौलायो । सार्बजनिक ठेक्का पट्टा देखि सामान्य नागरिकले मुलुकबाट सेवा लिनुपर्ने प्रक्रियासम्म, सबैतिर ढिलासुस्ती, घूस, र राजनीतिक पहुँचको संस्कृति मौलाएको कुरा छर्लङगै छ। जब कानुन शक्तिशालीको लागि अलग र कमजोरको लागि अलग हुन्छ, त्यसले समाजमा आक्रोश बाहेक के नै जन्माउँछ र ?
नातावाद, कृपावाद र फरियाबवादको संस्कृतिले संवैधानिक नियुक्तिदेखि सामान्य प्रशासनसम्म राम्रा भन्दा हाम्राहरुको हालीमुहाली गराइयो । सार्बजनिक शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारको अभाव, शिक्षा प्रणालीमा चरम राजनीति र ध्वस्त गुणस्तर र निजी क्षेत्रको असमान प्रभुत्वले आम युवामा निराशा थपेको थियो । यसले शिक्षित तर बेरोजगार युवाहरूको ठूलो समुदायलाइ नै अन्ततः आन्दोलनको मेरुदण्ड बनायो।
राजनीतिक र प्रशासनिक वर्गका केही व्यक्तिहरू र उनीहरूको परिवारले देखाएको अश्वभाविक ऐश्वर्यले सामान्य युवाको पीडासँग तीव्र तुलना खडा गर्यो । अर्कोतर्फ लाखौं युवा बेरोजगारी वा वैदेशिक रोजगारीमा धकेलिनु पर्यो । यस्तो विषमताले विद्रोहलाई मलजल गर्दै लग्यो । व्यापार र लगानीमा निरन्तर असुरक्षा, सरकारी सेवामा चरम ढिलासुस्ती र अनावश्यक अवरोधले आन्तरिक अर्थतन्त्र कमजोर बनायो ।
नागरिकले राज्यसँग पाउने सेवामा बारम्बार निराशा व्यहोर्नु परेपछि भित्र भित्रै आन्दोलनको धुँवा पुत्ताइरहेको थियो । सचेत र बयस्क युवा पुष्ताले नेतृत्वलाइ नझक्झकाएका हैनन् । तर सत्ता र शक्तिको नशामा डुबेको नेतृत्वले कहिल्यै सुन्न चाहेन । अन्तत: बिद्रोहको आगो दन्कियो र आन्दोलनको उदेष्य पवित्र हुँदाहुँदै पनि आपराधिक समुहको घुषपैठले देशको अपुरणीय क्षति भयो र दुखान्तमा परिणत भयो । अपराधिक समूहहरूको घुसपैठले हिंसा र तोडफोडलाई बढावा दियो ।
पेशेवर र तालिम प्राप्त हतियारधारीहरुले मौका छोपेर वालबालिकाहरुका टाउका र छातिमा गोली हाने र प्रहरी र सुरक्षा निकायलाइ दोष लगाए । आपराधिक समुहले सरकारी कार्यालय, ऐतिहासिक अभिलेख, निजी व्यवसाय र सार्वजनिक सम्पत्तिमा भएको आगजनी र आक्रमणले आन्दोलनका जायज प्रश्नहरु ओझेलमा पार्दै केवल ध्वंशमात्र जनताको हातमा थमाइदिने खतरा पैदा भएको छ ।
नेपाल भूराजनीतिक इपिसेन्टरमा अवस्थित भएको कुरा सामान्य नागरिक पनि जानकार छन् । यस्तो अवस्थामा कुनै पनि आन्तरिक विद्रोहलाई बाह्य शक्तिहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने सम्भावना रहन्छ। हाम्रै प्रणाली भित्रै बिदेशी एजेन्टका रुपमा काम गर्नेहरु छन् । हाम्रो इन्टेलिजेन्स कमजोर छ , यसले देशलाइ ठूलो दुर्घटनामा पुर्याउने संभावना बढेको छ भनेर नेतृत्वलाइ वारम्बार हामीले बिभिन्न माध्यमबाट सतर्क गराउने प्रयास पनि गरेको हो ।
आन्दोलनलाई बहाना बनाएर नेपाललाई असफल राज्यतर्फ धकेल्ने वा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिमा विभिन्न शक्तिकेन्द्रले खेल्न सक्ने संकेत गरेकै हो । तर वास्ता गरिएन । अन्तत: युवा विद्रोह मुलुकले खेप्नै नसक्ने क्षति गराएर बिसाएको छ । यसले निम्त्याएको तत्कालिन र दिर्घकालिन असर बेहोर्नुको अब कुनै विकल्प नेपाली समाज सामु छैन ।
जेन – जी आन्दोलनका नाममा भूराजनीतिक खेलाडीहरुका एजेन्ट बनेर युवा असन्तोषलाइ गलत दिशामा प्रयोग गर्न उक्साउने माओवादी, रास्वपा र बालेन साहहरुसंग नेपाली जनताले युगौंसम्म उत्तर खोजिरहने छन् । यिनीहरुलाइ यसै उम्किन दिने छैनन ।
राजनीतिक प्रणालीका नाममा हुने हरेक दशकका बिद्रोह र आन्दोलन, भूकम्प, नाकाबन्दी, कोभिड जस्ता महामारीले थलिएको नेपालको अर्थतन्त्र माथी भ्रष्टाचार, कुशासन र दण्डहिनताको पराकाष्ठाले कोममा पुगेकै थियो । फेरी एउटा बज्रपात भयो मुलुकमा जेन-जी आन्दोलनको नाममा देशी बिदेशी घुषपैठियाहरुको आतॅक, लुटपाट र राष्ट्रिय सम्पतिमा आगजनिले ।
कसरी गर्ने सुधार ?
आन्दोलनको जरा गहिरो भएकाले तत्काल र दीर्घकालीन दुवै खाले सुधार अपरिहार्य छन्।
१) राजनीतिक सुधार
– पुराना नेताहरूको एकाधिकार अन्त्य गर्दै तेस्रो पुस्ताका नेताहरूलाई नेतृत्वमा स्थापित गर्ने व्यवस्था गर्ने ।
– दलभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित गर्न कानुनी र संस्थागत मापदण्ड बनाउने ।
– संवैधानिक र अन्य सरकारी निकायहरूमा हुने नियुक्तिमा भागबन्डा रोक्ने, मेरिट प्रणाली स्थापित गर्ने ।
– निर्वाचन प्रणालीमा ब्यापक सुधार गर्ने ।
२) सुशासन र भ्रष्टाचार नियन्त्रण
– अख्तियार र न्यायालयलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउँने ।
– ठेक्का , बजेट, र सार्वजनिक खरिद प्रक्रियामा डिजिटल ट्रान्सपरेन्सी लागू गर्ने।
– शक्तिशाली व्यक्तिहरूलाई समेत कानुनी कारबाहीमा ल्याउनेगरी बिधि स्थापित गर्ने ।
– सरकारी सेवामा नागरिकले पाउने सास्ति अन्त्य गर्ने ।
३) शिक्षा र रोजगारी
– सार्वजनिक विद्यालय र विश्वविद्यालयमा गुणस्तर सुधारको दीर्घकालीन योजना बनाउने र लागु गर्ने । शिक्षामा पर्याप्त बजेट दिने ।
– व्यवसायिक तथा प्रविधिमुखी शिक्षा प्रणाली विस्तार गर्ने ।
– युवालाई लक्षित गरि ‘रोजगारी सिर्जना अभियान’ सञ्चालन—साना तथा मध्यम उद्योगमा लगानी प्रोत्साहन गर्ने ।
४) प्रशासनिक सुधार
– सरकारी सेवामा ‘डिजिटल वन–डोर प्रणाली’ लागू गरेर ढिलासुस्ती घटाउने ।
– नागरिक सेवामा समयसीमा आधारित बिधि कार्यान्वयन गर्ने ।
– कर्मचारीतन्त्रमा नातावाद र राजनीतिक हस्तक्षेप रोक्ने नियम कडाइका साथ लागु गर्ने ।
– कर्मचारीतन्त्रको कार्यसम्पादन मुल्याङकन पारदर्शी र ट्यान्जिवल बनाउने । निरन्तर खराब डेलिभरी दिने कर्मचारीलाइ सेवामुक्त गर्ने ब्यबस्था गर्ने।
५) सामाजिक न्याय र समान अवसर
– सम्पत्तिको असमान वितरण घटाउने नीति – प्रगतिशील कर प्रणाली, भूमि सुधार, शिक्षा–स्वास्थ्यमा सबलीकरण गर्ने ।
– युवालाई नेतृत्व र निर्णय प्रक्रियामा सहभागी गराउने संरचना तयार गर्ने।
– सामाजिक संलग्नता बढाउन युवा स्वयंसेवी कार्यक्रम र स्थानीय विकास योजनामा सक्रिय भूमिकाको अवसर दिने।
६) भूराजनीतिक रणनीति
– नेपाललाई असफल राज्य बनाउन खोज्ने बाह्य रणनीतिबाट जोगाउन स्वतन्त्र र समदुरीको परराष्ट्र नीति लागु गर्ने ।
– छिमेकी र विश्वशक्तिसँग सन्तुलित र दुइपक्षिय, बहुपक्षिय लाभको सम्बन्ध कायम गर्ने ।
– राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने ।
अन्तमा भाद्र २३–२४ को जेन-जी आन्दोलन केवल असन्तुष्ट युवाको भावनात्मक प्रतिक्रिया मात्र थिएन, यो संरचनागत असफलताको दर्पण हो। समाधान भनेको दमन होइन, सुधार हो । नेतृत्वले यसलाई चेतावनीको घण्टीको रूपमा लिएर राजनीतिक पुनर्संरचना, सुशासन, रोजगारी र शिक्षा–सुधारमा ठोस कदम नचलाएसम्म देश दीर्घकालीन अस्थिरताको फन्दाबाट मुक्त हुने छैन । यी बिना नेपालमा शान्ति र स्थायित्व दीर्घकालीन रूपमा सम्भव छैन। यदि नेतृत्त्वले यो चेतावनीलाई गम्भीरतापूर्वक लिएन भने, आगामी वर्षहरूमा अझ गहिरो राजनीतिक संकट र सामाजिक अस्थिरता टार्न कठिन हुनेछ । बिद्रोहको जरा हामी सच्चिनु र विकृतिका समाधान गर्नुमा मात्र छ ।