सत्तारुढ दल रास्वपा सांसद सुलभ खरेलले चलचित्रमा देखाइने ‘न्यूड सिन’ प्रति सेन्सर बोर्ड लचक हुनुपर्ने तर्क गरेका छन् । नेपालमा नियमनका सिलसिलामा धेरै फिल्मलाई ‘ब्यान्ड’ गरिएको दाबीसमेत उनले गरे ।
आज संसद बैठकमा चलचित्र विधेयकमाथिको बहसमा भाग लिँदै खरेलले यस्तो दाबी गरेका हुन् । कानून व्यवसायीसमेत रहेका उनले कुन चलचित्र के आधारमा नेपालमा ब्यान्ड भए भन्ने दृष्टान्त चाहिँ दिएनन् ।
खरेलले कुनै पनि चलचित्रमा न्यूड सिन छ भने त्यसको उद्देश्यमा ध्यान दिनुपर्ने सुझाव दिए । यदि उक्त दृश्यले यौन उत्तेजनालाई प्रधान उद्देश्य मानेको छ भने मात्रै राक्नुपर्ने उनको सुझाव छ ।
उनले भने, ‘एउटा सिन मात्रै हेरेर न्यूड छ कि छैन, एक्स्प्लिसिट छ कि छैन भनेर बोर्डले रोक लगाइरहेको अवस्था छ । समग्रतामा एउटा एपिसोड मात्र नभएर सिंगो फिल्मलाई नै हेरेर निर्णय गर्नुपर्छ । उक्त सामग्रीले यौन उत्तेजनालाई प्रधान उद्देश्य मानेको छ भने रोक्नुपर्छ, नत्र रोक्नु हुँदैन । जस्तो विदेशी फिल्ममा रोकावट देखिँदैन, तर नेपालको बोर्डले रोक्छ । हो, आपत्तिजन्य यौनजन्य आचरण देखाएको छ भने रोक्नुपर्छ । तर त्यस्ता सामग्री जसले कथा, चरित्र विकास, कलात्मक चरित्रको हिस्सा छ भने त्यस्तोमा निषेध गर्नुहुँदैन । बरु त्यसलाई वर्गीकरण गर्नुपर्छ ।’