प्रेमनाथ पौडेल
बागमति
भूमि तथा दलित आन्दोलनका अग्रणी नेता बलदेव रामको ८औं स्मृति दिवसको अवसरमा सर्लाहीमा विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, जिल्ला समिति सर्लाहीको आयोजनामा भएको सो कार्यक्रमको अध्यक्षता मञ्चकी जिल्ला अध्यक्ष भवानी घिमिरेले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय भूमि अधिकार मञ्चका महासचिव फौद्द सिंह स्याङ्बो रहनुभएको थियो।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग सर्लाहीका अध्यक्ष मदन विश्वकर्मा, बागमती नगरपालिका–१ का वडा अध्यक्ष गम्भीर सिंह पाख्रीन, तथा राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीका पूर्व अध्यक्ष जितबहादुर गोले लगायत विभिन्न अगुवा व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले बलदेव रामको भूमिको हक र अधिकारको आन्दोलनमा पुर्याएको योगदानलाई स्मरण गर्दै, उहाँको संघर्ष र नेतृत्व सदैव प्रेरणादायी रहेको उल्लेख गरेका थिए। उहाँको अभावमा पनि संगठनको आवश्यकता अझै रहेकाले उहाँको योगदानलाई बिर्सन नहुने धारणा व्यक्त गरिएको थियो।
स्मृति दिवसको सन्दर्भमा बागमती नगरपालिका–१ स्थित सुकुम्बासी बस्तीमा विभिन्न जात–जातका फलफूल तथा बहुपयोगी विरुवाहरूको वृक्षारोपण गरिएको राष्ट्रिय भूमि अधिकार मञ्च, सर्लाहीले जनाएको छ।
वृक्षारोपणले वातावरण संरक्षणसँगै समुदायमा आपसी सद्भाव, समर्पण र सामाजिक जागरणको सन्देश दिने अपेक्षा गरिएको छ।