नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

 संवाददाता    २०८२, ३ असार मंगलवार १६:२२     185 जनाले पढ़िसके



Spread the love

निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण सम्पन्न भएको छैन।

बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष बित्दासमेत अझै १२ किलोमिटर अलपत्र छ। बागलुङ–बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको १३ किलोमिटर सडकलाई छुट्टाछुट्टै खण्ड बनाएर आर्थिक वर्ष २०७२/७३ मा दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो। उक्त दुई खण्डमध्ये बिहूँ–घोडाबाँधेको १३ किलोमिटरको ठेक्का गत वर्ष तोडेर नयाँ ठेकेदारसँग सम्झौता भए पनि कामले गति लिन सकेको छैन।

बागलुङ बिहूँ खण्डको १३ किलोमिटरमध्ये जम्मा नौ किमी सडक कालोपत्र भए पनि अन्य सडक कालोपत्र हुन नसकेको हो। बागलुङ बिहूँ खण्डको चार किलोमिटर सडक कालोपत्रका लागि तीन महिनाअघि सडकमा हालेको बिटूमिन पानीले बगाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत कार्यालयका इन्जिनियर कल्पना मिश्रले जानकारी दिए।

‘निर्माण व्यवसायीको चरम लापरबाही छ, बागलुङ बिहूँ खण्डको १३ किमी सडक पाँचपटक म्याद थप गर्दासमेत सकिएन, अहिले निर्माण व्यवसायी कार्यस्थलमा छैन, काम सम्पन्न भइसकेको स्थानमा समेत पुनः मर्मत गर्न आवश्यता छ,’ मिश्रले भने, ‘बिहुँ–घोडाबाँधे खण्डको १३ किमी सडक पाँचौँ पटक म्याद थप्दासमेत सम्पन्न नभएपछि ठेक्का तोडेका थियौँ, नयाँ निर्माण व्यवसायीको प्रगतिसमेत कछुवा गतिमा छ, दुई वर्षमा सक्ने भनेको ठेक्का एक वर्षमा १० प्रतिशत मात्रै काम भएको छ।’

कालोपत्र भइसकेको १४ किलोमिटर सडकमा समेत खाल्टाखुल्टी परेको छभने थुप्रै संरचना बनाउन आवश्यक देखिएको छ।