विगत पाँच दिनदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आज पनि बढ्यो

 संवाददाता    २०८२, २२ जेष्ठ बुधबार ११:१३     275 जनाले पढ़िसके



Spread the love

हिजो (मंगलबार) तोलामा दुई हजार नौसय रुपैयाँ बढेको सुनको मूल्य आज थप बढेको छ।

प्रतितोला पाँचसय रुपैयाँ बढेर आज सुनको मूल्य एक लाख ९३ हजार दुईसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य हिजो तोलाको एक लाख ९२ हजार सातसय रुपयाँ थियो।

गएको शुक्रबारदेखि सुनको मूल्य लगातार बढ्दै आएको छ। गतसाताको सोमबारदेखि बिहीबारसम्म चार हजार रुपैयाँ घटेको सुनको मूल्य गएको शुक्रबारदेखि निरन्तर बढिरहेको हो।

सुनको मूल्य शुक्रबार प्रतितोला सातसय, आइतबार तीनसय, सोमबार एक हजार र मंगलबार २९ सय रुपैयाँ बढेको थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।