बजेट वितरण गर्दा तराई मधेसलाई विभेद गरियो : साह

 संवाददाता    २०८२, ३ जेष्ठ शुक्रबार १८:२२     133 जनाले पढ़िसके



Spread the love

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘नेपालको बजेट नेताहरूको निजी सम्पत्ति हो की नेपाली जनताको साझा सम्पत्ति हो ?’ भन्दै प्रश्न उठाएका छन् । सरकारले बजेट वितरण गर्दा तराई मधेसलाई विभेद गरेको उनले आरोप लगाए ।

प्रतिनिधिसभाको आज (शुक्रबार) बसेको बैठकमा आगामी आर्थिक बर्ष २०८२÷८३का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक)को छलफलमा आजपा अध्यक्ष साहले बजेटको वितरण समान रूपमा सबै प्रदेश, क्षेत्र एवं पालिकामा नभएको बताए । हरेक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एवं मानव विकाश सूचकांकमा पछाडि परेको तराई मधेसमा सरकारले बजेट वितरण गर्दा विभेदपूर्ण तरिकाले गरेको उनले बताए ।

उनले १६५ वटा संसदीय क्षेत्र, प्रदेश, पालिका, वडाहरूमा समान बजेटको वितरण सरकारले नगरेको तथ्याङ्क पेस गर्दै यस्तो किन भएको भन्दै प्रश्न उठाए ।

आजपा अध्यक्ष साहले नेपालमा सात सय ५३ वटा पालिका रहेको बताउँदै १८ खर्बलाई सात सय ५३ ले भागा गर्ने हो भने एउटा पालिकामा २ सय ४९ करोड पर्ने बताए । यदि एक वर्षमा यसरी विनियोजन बजेट पालिकामा जाने हो भने नेपालमा विकासको प्रवाह कसैले रोक्न नसक्ने उनले बताए । तर एउटा वडा जहाँ २६ करोडको बजेट पुग्दैन तर मन्त्रीको वडामा २६ अर्बको बजेट गइरहेको उनले बताए । त्यसैले बजेटको समान वितरण हुनुपर्ने अर्थमन्त्री विष्णु पौडेलको विशेष ध्यानाकर्षण साहले गराए ।