नेपाल-भारत सीमा क्षेत्रमा निगरानीका लागि ड्रोनको प्रयोग बढाइने भएको छ।
काठमाडौंमा सम्पन्न भएको नेपाल-भारत १०औँ समन्वय बैठकमा यसबारे छलफल भएको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलबीच भएको बैठकमा विभिन्न विषयमा सहमति भएको सशस्त्रका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताए।
परम्परागत सुरक्षा प्रणालीबाट आधुनिक र प्रविधिमैत्री स्मार्ट सीमा व्यवस्थापनतर्फ रूपान्तरण गर्ने विषयमा छलफल भएको कार्कीले जानकारी दिए। बैठकमा दशगजा क्षेत्रको निगरानीका लागि सीसीटिभी, प्रमुख सीमा नाकामा लगेज स्क्यानर र वाक-थ्रु मेटल डिटेक्टर राख्ने तथा आ-आफ्नो भू-भागमा ड्रोनको प्रयोग बढाउने विषयमा गहन छलफल भएको उनले बताए।
अघिल्लो समन्वय बैठकका निर्णयहरूको प्रगति पुनरावलोकन गर्दै रणनीति, अपरेशनल र कार्यक्षेत्र गरी तीन वटै तहमा सहकार्य र शीघ्र सूचना आदानप्रदानमार्फत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षा नेतृत्वबीच संयुक्त प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरू, परराष्ट्र र गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीको उपस्थिति रहेको थियो भने भारतको तर्फबाट सशस्त्र सीमा बलका उच्च अधिकृतहरू, काठमाडौँस्थित भारतीय दूतावासका प्रतिनिधि र विदेश तथा गृह मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो।
नेपाल-भारत सीमा क्षेत्रको समग्र सुरक्षास्थिति शान्तिपूर्ण कायम गर्ने कार्यमा सशस्त्र प्रहरी बल र सशस्त्र सीमा बलका युनिटले प्रदर्शन गरेको उच्च व्यावसायिकता र सहकार्यको सराहना गरिएको थियो। त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचनाले आपसी सुरक्षा र सामाजिक सौहार्दतामा खडा गरेको चुनौती सामना गर्न संस्थागत सहकार्य सुदृढ गर्ने सहमति समेत भएको सशस्त्रले जनाएको छ।
बैठकमा दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचनाहरू हटाउन निरन्तर संयुक्त प्रयास जारी राख्ने निर्णय भएको छ। यस्तै, बाउन्ड्री वर्किङ ग्रुप र सर्भे अफिसियल्स कमिटीको निर्णयअनुसार, सीमा स्तम्भको निरन्तर मर्मत, सम्भार तथा पुनर्निर्माण गर्न फिल्ड तहमा समन्वय बढाउन दुवै पक्ष सहमत भएका छन्।
बैठकमा सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोट, लागूपदार्थ नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत आवतजावत रोक्न समयमै प्राप्त हुने सोसँग सम्बन्धित सूचनाको आदानप्रदानलाई निरन्तरता दिईने प्रतिवद्धता व्यक्त गरिएको छ।

खुला सीमाको दुरुपयोग गरी हुने तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न सीमा नाकामा जाँच र कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शंकास्पद व्यक्तिहरूबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको छ।
यस्तै, बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक विपद्को सामना गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा ‘ज्वइन्ट स्विफ्ट वाटर रेस्क्यु एक्सरसाइज’ सञ्चालन गर्नेबारे पनि छलफल भएको छ।
बैठकमा यात्रुको सहजताका लागि सीमा नाकामा सहायता कक्ष विस्तार गर्ने, मैत्रीपूर्ण खेलकुदका साथै विभिन्न अन्तर्राष्ट्रिय दिवस तथा प्रमुख चाडपर्वमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी द्विपक्षीय विश्वास र सौहार्दता अभिवृद्धि गर्ने पनि सहमति भएको छ।
यससँगै नेपाल-भारत समन्वय बैठक आगामी वर्ष भारतमा आयोजना गर्ने निर्णय पनि भएकोे प्रवक्ता कार्कीले बताए।