नेपालमा पोडवेको औपचारिक निर्माण प्रकृया कोशी प्रदेशबाट सुरु : दुई अन्यको लागि समझदारी,हेटौंडा-काठमाडौंका लागि संघिय संसदमै आवाज उठ्यो

 पोडवे     २०८२, ३ जेष्ठ शुक्रबार १५:१७     136 जनाले पढ़िसके



Spread the love

कोशी प्रदेश सरकारले आयोजना गरेको दुई दिने भव्य कोशी लगानी सम्मेलन २०८२ मा काठमाडौं पोडवे कम्पनी प्रा.लि.ले एक महत्त्वपूर्ण सफलता हात पारेको छ। प्रदेशको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने उद्देश्यका साथ प्रस्तुत गरिएको कम्पनीका तीनवटा महत्वाकांक्षी परियोजनाहरूले सम्मेलनमा उच्च प्राथमिकता पाएका छन्।
सम्मेलनको दौरान, काठमाडौं पोडवे कम्पनी र जमादार पोडवे प्रा.लि. (जमादार समूह) बीच एक ऐतिहासिक सम्झौता सम्पन्न भएको छ। यो सम्झौता विराटनगर महानगरपालिकामा पहिलो पोडवे परियोजनाको अवधारणा डिजाइन, पूर्व-इन्जिनियरिङ, र विस्तृत लागत अनुमान अर्थात डिपिआर तयार पार्ने सम्बन्धमा केन्द्रित छ।

जसका लागि जमादार पोडवे प्रा लीले काम गर्नेछ। प्रस्तावित परियोजनाले भारतीय सीमा क्षेत्रको रानी भन्सारबाट विराटनगरको मुख्य बसपार्कसम्म ७ किलोमिटर लामो आधुनिक यातायात सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ। यस परियोजनाले विराटनगरको यातायात प्रणालीलाई नयाँ आयाम दिनेछ।
यसैगरी, काठमाडौं पोडवे कम्पनीको प्राविधिक सहकार्यमा अन्य दुई महत्त्वपूर्ण परियोजना कन्काई-इलाम- सन्दकपुर पोडवेका लागि माउन्टेन पोडवेका वसन्त रिमाल र मुर्कुची-लिम्चुङ्गबुङ्ग- हलेसी पोडवेका लागि टिन्स भेन्चर प्रा.ली. का पुजन चौधरीले कोशी प्रदेश सरकारसँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन।

यी परियोजनाहरूमा मुर्कुची–लिम्चुङबुङ–हलेसी खण्ड र कन्काई–इलाम–सन्दकपुर खण्डमा पोडवे निर्माण गर्ने योजना समावेश छ। यी दुवै खण्ड पर्यटकीय र आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छन् र पोडवे सेवा सञ्चालन भएपछि यस क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री श्री हिक्मतकुमार कार्की र लगानी प्राधिकरण, कोशी प्रदेशका डा. सरोज कोइरालाले काठमाडौं पोडवे कम्पनीको यो कार्यलाई अत्यन्त उत्कृष्ट र प्रदेशकै गेमचेन्जर आयोजनाको रुपमा लिनुभएको छ ।

कम्पनीका प्रतिनिधिहरूले यो ऐतिहासिक क्षण सम्भव बनाउन उहाँहरूको महत्त्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेका छन्। काठमाडौं पोडवेले यो महत्त्वपूर्ण उपलब्धि हासिल गर्न विगत पाँच वर्षदेखि लगातार प्रयास गरिरहेको र यो सफलताले कम्पनीलाई थप उत्साहित बनाएको जनाएको छ।
यस महत्त्वपूर्ण अवसरमा काठमाडौं पोडवे कम्पनीका प्राविधिक साझेदार युएसटी ग्रुप अफ कम्पनीजका उच्च प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। युएसटी ग्रुपका ओलेग जारेत्स्की र आर्सेनी पेट्रोभले विराटनगर परियोजनाको सम्झौतामा सह-हस्ताक्षर गर्नुभएको थियो।

काठमाडौं पोडवेले युएसटी ग्रुपसँगको यो सहकार्यलाई निकै महत्त्व दिएको छ र भविष्यमा नेपालमा उन्नत र दिगो यातायात प्रविधि भित्र्याउन संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा काठमाडौं पोडवेका सह-संस्थापक तथा उपाध्यक्ष निल भट्टराई र युएसटी ग्रुपका सीईओ ओलेग जारेत्स्कीले संयुक्त रूपमा आधिकारिक धारणा व्यक्त गर्नुभएको थियो।

उहाँहरूले यो सहकार्य नेपालको यातायात पूर्वाधार विकासमा एक नयाँ अध्यायको सुरुवात भएको बताउनुभयो।
कोशी लगानी सम्मेलनमा काठमाडौं पोडवे कम्पनीको यो सफलताले प्रदेशमा आधुनिक यातायात प्रणालीको विकास हुने आशा जगाएको छ। यो परियोजनाले न केवल यात्रुहरूलाई सहज र सुरक्षित यात्राको अनुभव प्रदान गर्नेछ, साथै यसले स्थानीय अर्थतन्त्र र पर्यटन क्षेत्रलाई पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

त्यस्तै पुरानो रज्जु मार्ग अर्थात हेटौंडा काठमाडौं रोपवे को हालको जिर्ण संरचनालाई हटाई उक्त राइट अफ वे मा पोडवे निर्माण गर्नुपर्ने आवाज बढ्दै गएको छ। झन यसका लागि मकवानपुरका सांसद तथा प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलालेनै पोडवे उक्त स्थानमा बनाउनका लागि हालै तयार हुँदै गरेको ०८२/८३ कै बजेटमा समेट्न सदनमा आवाज उठाएपछी यसको आवश्यकताको आभास सिंगो मकवानपुरवासी र काठमाडौंबासीलाई भइरहेको छ।

के हो त यो पोडवे ? हेरौं तलका भिडियोहरुमा।